नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगरको दैनिकी गतवर्षदेखि नै फेरिएको छ ।
कोभिडको पहिलो चरण सुरुवात हुनुभन्दा पहिलेदेखि नै कोरोना रोकथाम, नियन्त्रण, राहत वितरण र अन्य व्यवस्थापनमा सक्रिय थापा मगरको सक्रियता यतिबेला झनै बढेको छ ।
थापालाई पछिल्लो समय नेपालगञ्ज उप–महानगरपालिका भन्दा नगरका अस्पतालहरु र आईसोलेसन सेन्टरमा बढि भेट्न सकिन्छ । अस्पतालहरुमा विरामीहरुले सय्या नपाएको, अक्सिजन नपाएको, शवको व्यवस्थापन हुन नसकेको भन्दै विहानदेखि रातीसम्मनै उपप्रमुख मगरलाई फोन आउने गरेको छ ।
कहिलेकाही विहान अस्पताल पुगेकी थापा मध्यराती मात्रै घर पुग्ने फुर्सद पाउनुहुन्छ । नेपालगञ्ज र बाँके जिल्लाका मात्रै नभएर विभिन्न बाहिरी जिल्लाबाट सहयोगका लागि उपप्रमुख मगरलाई फोन आउने गरेको छ । सामाजिक अभियन्ता सुरेन्द्रदीप कार्की नेपालगञ्जका उप–प्रमुख थापाको सक्रियता अन्य जनप्रतिनिधीहरुका लागि पाठ हुन सक्ने बताउनुहुन्छ ।
राजनीति गर्नेहरुले जनताको तत्कालिन समस्या समाधानमा पहल गर्नुपर्छ, कार्की भन्नुहुन्छ,– थापाले हरेक समयमा विपदको समयमा गर्नुभएको सक्रियताले हामीलाई पनि घच्घच्याउने गरेको छ । भेरी अस्पतालमा विरामीले सइया नपाएको जानकारी आउनासाथ उपप्रमुख मगर आफै अस्पताल पुगेर कतिपयलाई उपमहानगरपालिकाको आईसोलेसनमा स्थानान्तरण गर्नुहुन्छ ।
अस्पतालमा कार्यरत चिकित्सक र स्टाफनर्सहरुको कामको प्रशंसा गर्दै आवश्यक सहजिकरण गर्न तम्सिनुहुन्छ । नेपालगञ्ज उप–महानगरपालिकामा संकटको समयमा आवश्यक योजना बनाउने, कार्यान्वयन गर्ने, उपचार तथा अन्य व्यवस्थापनमा खटिने लगायतका कार्यमा पनि उपप्रमुख मगरको नेतृत्वदायी भूमिका रहेको छ ।