सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेलामा आउने भक्तजनहरुको संख्या एकलाख पचासहजार नाघ्ने आँकलन

काठमाडौं । यहि चैत्र ३० गते शनिवार हुने बालाजु बाईसधारा (ल्हुती पुन्ही) मेलामा आउने भक्तजनहरुको संख्या एकलाख पचासहजार नाघ्ने आँकलन गरिएको छ ।
(ल्हुती पुन्ही) बालाजु बाईसधारा मेला तथा खट जात्रा व्यवस्थापन समितिले आज एक पत्रकार सम्मेलन आयोजना गरि सो कुरा बताएको हो ।
बर्षेनी यहि समयमा हुने यस मेलालाई काठमाडौं महानगरपालिका आफैंले व्यवस्थापन गर्दै आएको मा २०८१सालबाट स्थानिय समितिबाटै व्यवस्थापन गर्ने निर्णय गरि स्थानियलाई जिम्मा दिदै आएको छ ।
काठमाडौं उपत्यका बाहेक उपत्यका आसपास र देशै भरबाट यो मेला भर्न आउने भक्तजनहरुको सहजताको लागि आयोजक समितिको तर्फबाट गर्नुपर्ने सम्पुर्ण तयारी पुरा भएको आयोजक समितिका संयोजक प्रकाश बलामीले बताउनु भयो ।
स्वास्थ्य,शान्तिशुरक्षा , शौचालय , खानेपानी तथा दर्शन गर्नको लागि सबैलाई सहजहुने किसिमको वातावरण बनाउन आयोजकले स्थानिय प्रशासन ,नेपाल प्रहरी सशस्त्र प्रहरीबल ,महानगर प्रहरी,नेपाल स्काउट तथा नेपाल रेडक्रस सोसाईटी संग समन्वय गरि बिभिन्न उप समिति मार्फत व्यवस्थापनलाई चुस्त बनाउन लागेको आयोजक टिमले जानकारी गराएको छ ।
पुटपाथ बजार नहुँदा मेलाको रौनकता नहुने भन्दै महानगरपालिका र आयोजकको सहमतिमा ठेला गाडा तथा गाडी बाहेकका पुटपाथ बजार राख्न बन्देज नगरिने पनि आयोजकले जानकारी गराएको छ ।
यसपालि यो मेलामा नेवारी संस्कृती भल्काउने खाना लगायतका स्टलहरु राखेर स्थानिय उत्पादन लाई प्रसय दिन लागिएको पनि आयोजकले जनाएको छ ।
यस्तो छ यो मेलाको ईतिहास

काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर महायानी दार्शनिक आचार्य नागार्जुनको नामले प्रख्यात नागार्जुन पर्वतमुनि पर्ने एक सुन्दर भूमि नै हालको बालाजु हो । यहाँका स्थानीयहरुले बालाजुलाई ल्हुती भन्ने गर्दछन् । ल्हो हिटी (ढुङ्गाको धारा) बाट अपभ्रंस भएर यसको नाम ल्हुती रहन गएको जानकारहरु बताउँछन् । बालाजु क्षेत्र धार्मिक्, साँस्कृतिक सहिष्णुताको दृष्टिले पनि उदाहरणीय छ । यो स्थानको सुन्दरतामा मोहित भएर ” ‘यति दिनपछि मैले आज बालाुज देख्याँ, पृथ्वी तल भरीमा स्वर्ग हो जानी लेख्याँ ।’ भनी आदिकवी भानुभक्त आचार्यले सुन्दर कविता रचेका थिए ।

नेपाल संवत् ८७५ ( विसं १८१२ तिर) मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ ढुंगेधारा स्थापना गराएकामा पछि विसं १८५५ मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुंगेधारा स्थापना गरेपछि सो स्थान बाइसधाराको नामले चिनिन गएको हो । झण्डै १६२ रोपनी क्षेत्रफलमा फैलिएको बालाजु बाईसधारामा हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाको दिन वृहत धार्मिक मेला लाग्ने गर्दछ जसलाई नेवार समुदायले ल्हुती पुन्ही: भन्ने गर्दछन् भने नेपाली भाषामा बालाजु बाईसधारा मेलाको नामले प्रख्यात छ । स्वयम्भू पुराणमा उल्लेख भए अनुसार कुनै समयमा महामञ्जुश्री, बोधिसत्व, केसिनी र उपकेसिनी देवीहरूसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए । त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकामा पानी कसरी विस्थापित गर्ने भनेर सोचेका थिए । पछि यहाँको पानी सुकेपछि विपस्वी बुद्धले कमलका फूल रोपेर “ॐ नमोरत्नत्रयाय“ भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको भनिन्छ । यसैको सम्झनामा ल्हुतिपूर्णिमा मनाउने गरिएको हो भन्ने किंवदन्ती छ ।

मेलाको धार्मिक आस्था
मुख्यत: हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको बालाजुमा लाग्ने मेलाका धार्मिक आस्थाहरु निम्न प्रकारका छन् :-
क) मेलाको दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइसधारामा नुहाईधुवाई गरेमा लाभ प्राप्त हुने विश्वास रहेको छ ।
ख) नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस मिसिएर त्यहाँबाट बग्ने पानीमा मिसिई बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ।
ग) बाईसधाराको मुहान नुवाकोट पर्वतसँग जोडिएको मानिन्छ । यसर्थ देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुन्छ भन्ने किंवदन्ती छ।
घ) बालाजु बाईसधारा क्षेत्रभित्र रहेको शीतलामाई र गुहृयेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ छ।
ङ) मेलाको दिन नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधी हटेर सुख प्राप्त हुने, पारिवारिक समृद्धि कायम हुने र परलोकमा समेत पुण्य प्राप्त हुने धर्मिक आस्था रहिआएको छ। बालाजुमा उक्त दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले हरेक वर्ष मेला भर्ने प्रचलन छ साथै जामाचोमा मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा रहिआएको छ ।
च) बौद्ध धर्मावलम्बीहरु बाइसधाराको जात्रामा पूर्णेको अघिल्लो दिन नै यहाँका बौद्ध स्तुपामा आउँछन् र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने गर्दछन् । चैत पूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपाको ज्योतिको दर्शन गर्दछन् ।

ल्हुती पुन्ही (बालाजु पूर्णिमा) को जात्रा सम्बन्धमा
ल्हुति पूर्णिमाका दिन बाइसधारामा मात्र होइन अन्यत्र धेरै स्थानमा पनि जात्रा मेला पर्दछन्। विभिन्न जात्रा र पर्व पर्ने भएकाले यस ल्हुति पूर्णिमाको महत्व छ ।
यस दिन नुवाकोटको कडेल्चोक भगवतीलाई पनि बालाजुमा ल्याई यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलिद्वारा देवीको पूजा गर्ने परम्परा रहिआएको छ । त्यसपछि केही दिनसम्म उक्त भगवतीलाई यहीँ राख्ने परम्परा छ ।
त्यस्तै मनमैजु देवीको जात्रा पनि बालाजु बाइसधाराको प्रसङ्गसंग जोडिएको छ । ल्हुती पूणिर्माको मेलासँगै मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ ।
बालाजु बाईसधारा मेलासँगै शुरु हुने जात्रा जम्मा ५ दिन मनाउने प्रचलन रहँदै आएको छ । सिन्दुरे जात्रा गर्दै बिभिन्न बाजागाजा र नाँचगान सहित बालाजु परिक्रमा गर्ने बिभिन्न देवीदेवताका रथहरुमा गोलढुङ्गाबाट महाकाली देवीको रथ, पुरानो गुहेश्वरीबाट लौरी बिनायक गणेशको रथ, बालाजुको श्वेत बिनायक गणेशको रथ, लोलाङको लोलाङ गणेश र बज्रयोगिनीका रथहरु रहने गर्दछन् । जात्राको अन्तिम दिन (पाँचौं दिन) बालाजु परिक्रमा पश्चात् पाहुना देवीदेवताहरुलाई बालाजुको श्वेत गणेशको रथले शेषमति पूलसम्म पुर्याउँन जाने र जात्रा समापन गर्ने गरिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »