नेपालगन्ज, बाँकेको बैजनाथ गाउँपालिकाका कर्मचारीलाई पटक–पटक दिएको निर्देशनलाई अटेरी गरेर कार्यालयमा ढिलो उपस्थित हुन थालेपछि बुधबार गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले पालिकाको कार्यालयको मूल गेटमा ताला लगाउनुभयो ।

उहाँले कर्मचारीले समयमा कार्यालयमा नआउने र अनुशासन पालना नगर्ने प्रवृत्तिका कारण आफूले बुधबार कार्यालयमा ताला लगाउन बाध्य भएको बताउनुभयो ।
बुधबार बिहान १०: १७ बजेसम्म कर्मचारीलाई पर्खिदा पनि नआएपछि मुलढोकाको च्यानल गेटमा ताला लगाएको उपाध्यक्ष रोकायले बताउनुभयो । उहाँले आफूले तालाबन्दी गर्दा कार्यालयको कुनै पनि शाखा प्रमुख तथा कर्मचारी नआएको जनाउनुभयो ।
तालाबन्दीका कारण करिब पौने चार घण्टासम्म बाहिर बसेका कर्मचारीले अब समयमै कार्यालयमा आउने प्रतिबद्धता जनाएपछि दिउँसो २ बजे आफै ताला खोलेको उपाध्यक्ष रोकायले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले आफू तालिममा रहेकाले कार्यालयमा तालाबन्दी भएको भन्ने कुरा सुनेको जनाउँदै समयमा कर्मचारीहरू कार्यालयमा आउनुपर्ने बताउनुभयो ।








