सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

काठमाडौँ । काठमाडौँको तारकेश्वरस्थित संस्थागत र सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मानित गरिएको छ । परिवर्तन अभियान नेपालले शनिबार राजधानीको नेपालटारमा एक कार्यक्रमको आयोजना गरेर पालिकाभरका कुल ७१ विद्यालयबाट एसईईमा सफल विद्यार्थीहरुलाई सम्मानित गरेको हो ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटीका अनुसार पालिकाबाट विभिन्न विद्यालयबाट १७ जनाले ४ जीपीए ल्याएका छन् ।

सबै १७ जना विद्यार्थीलाई कार्यक्रममै सम्मानीत गरिएको र अन्य विद्यार्थीलको हकमा सम्बन्धित विद्यालयमार्फत प्रमाणपत्र हस्तान्तरण गरिएको परिवर्तन अभियान नेपालका संयोजक सुशील भट्टले जानकारी दिए । उनका अनुसार ४ जीपीए प्रणिता ओझा, दीपेन्द्र आचार्य, निश्चल गिरी, प्रतिमा तामाङ, शौरभ रिजाल, समृद्धि रिजाल, शोयता गुरुङ, विनायक शर्मा, सोफिया शैयद, समीश्रण तामाङ, अञ्जली थापा, आयुशा राई, सदीक्षा भट्टराई, सुचन बस्नेत, विजय कुमार शाह, प्रतिज्ञा तामाङ र दीपेश गौतम रहेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरे । देशमा केही राम्रो भए पनि भने जति गर्न नसकिएको स्वीकारेका महामन्त्री थापाले कुनैपनि विषय वा मुद्दाका सवालमा अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए ।

एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरुले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्नपनि सुझाव दिए । यस्तै कांग्रेस काठमाडौँका सभापति सबुज बानियाले विद्यार्थी भविष्यको कर्णाधार भएको उल्लेख गर्दै आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सुझाव दिए ।

यस्तै भट्टले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै नव युवाहरुलाई प्रोत्साहित गर्न आफू सँधै तत्पर रहने बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, तारकेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शम्भु फुयाल, वडा नम्बर १० का अध्यक्ष कुमार राई, स्थानीय नेता रमेश खड्कालगायतको सहभागिता थियो ।

विभिन्न कलेजहरुको स्टलसमेत राखिएको कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरुलाई शैक्षिक परामर्श समेत प्रदान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »