सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

धर्म, संस्कृति र मानवताको संरक्षणका लागि ‘श्रीमद्भागवत कथा तथा वैदिक–सनातन शान्ति मार्गजागरण’ आयोजना हुँदै

काठमाडौं । धर्म, संस्कृति, मानवता र सामाजिक सद्भावको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘श्रीमद्भागवत कथा तथा वैदिक–सनातन शान्ति मार्गजागरण’ कार्यक्रम आयोजना हुने भएको छ।

जय महाकाल युवा समूह र हाम्रो चौतारी नेपालको संयुक्त आयोजनामा हुन लागेको उक्त कार्यक्रममा श्रीमद्भागवत कथा, वैदिक–सनातन शान्ति मार्गजागरण, विभिन्न धार्मिक तथा आध्यात्मिक पाठ, हवन, दिव्य दर्शन तथा गुरुजनबाट प्रवचनलगायतका कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार कार्यक्रम कुनै एक धर्म वा समुदायमा मात्र सीमित नभई नेपालका विविध धार्मिक तथा सांस्कृतिक परम्पराबीच आपसी सद्भाव, सहअस्तित्व र सामाजिक एकतालाई अझ बलियो बनाउने साझा अभियानका रूपमा अघि बढाइनेछ। सनातन, बौद्ध, किराँतलगायत नेपालका विविध धार्मिक–सांस्कृतिक परम्पराप्रति सम्मान प्रकट गर्दै शान्ति, सहिष्णुता, संस्कार र मानवताको भावना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।

‘कोही भोको नपरौँ, कोही भोकले नमरौँ’ अभियानसँग जोडिएको कार्यक्रम

जय महाकाल युवा समूहले विगतदेखि नै ‘कोही भोको नपरौँ, कोही भोकले नमरौँ’ भन्ने मूल भावनाका साथ ‘भोकालाई भोजन, तिर्ख्यासीलाई पानी’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

मानव सेवासँगै नेपाली मौलिक धर्म, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई समेत अभियानको महत्वपूर्ण उद्देश्यका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ।

यसैगरी प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार तथा राहत, विपन्न एवं असहायलाई सहयोग, सरसफाइ, धार्मिक तथा सामाजिक जागरणलगायतका गतिविधि निरन्तर सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ। मानव सेवा र आध्यात्मिक चेतनालाई सँगसँगै अघि बढाउँदै समाजलाई सकारात्मक, संस्कारित र सेवामुखी बनाउने अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको आयोजकको भनाइ छ।

विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुने

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेतृत्व, जनप्रतिनिधि, धार्मिक गुरु, विद्वान्, समाजसेवी, कलाकार, सञ्चारकर्मी तथा सामाजिक अभियन्तालाई सहभागी गराउने तयारी गरिएको छ।

आयोजकले धार्मिक आस्था र संस्कृतिका नाममा विभाजन होइन, सद्भाव, सहिष्णुता र मानवताको साझा भावनालाई बलियो बनाउने उद्देश्यले कार्यक्रम अघि बढाउन खोजिएको जनाएको छ।

कार्यक्रममा सहभागी हुन धर्मगुरु, बुद्धिजीवी, समाजसेवी, युवा, सञ्चारकर्मी तथा आम नागरिकलाई आयोजकले हार्दिक अपिलसमेत गरेको छ। मानवता, धर्म–संस्कृति, शान्ति र सामाजिक एकताको अभियानलाई सफल बनाउन सबैको सहभागिता आवश्यक रहेको आयोजकको भनाइ छ।

कार्यक्रमको मूल सन्देशका रूपमा “धर्म, संस्कृति र मानवताको संरक्षणका लागि एकजुट बनौँ। कोही भोको नपरौँ, कोही भोकले नमरौँ।” भन्ने आह्वान गरिएको छ।

कार्यक्रम काठमाडौं १६ माछापोखरी चोकमा आयोजना हुने प्रेस विज्ञप्तिमा उल्लेख छ। थप जानकारीका लागि जय महाकाल युवा समूहका अध्यक्ष लिला नाथ भण्डारीको मोबाइल नम्बर ९८४१६८३७३७ उपलब्ध गराइएको छ।
कार्यक्रम असोज १ देखि ९ गते सम्म हुने छ भने कार्यक्रमबारे जानकारी दिन २०८३ भाद्र ३१ गते प्रकार सम्मेलन गरिने आयोजक संस्थाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »