काठमाडौं । जनयुद्धकी अग्रणी महिला योद्धा तथा तत्कालीन अन्तरिम विधायिका सदस्य भगवती प्रधान (प्रतिमा) द्वारा सिर्जित गीति एल्बम “आँसु झार्दिन” को लोकार्पण कार्यक्रम काठमाडौं थापागाउँस्थित काठमाडौ बैंक्वेटमा सम्पन्न भएको छ।
कार्यक्रममा गंगा पराजुलीको सभापतित्व, टीका बास्तोलाको सञ्चालन तथा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्ती प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्।
यस भावनात्मक एल्बमलाई शहिद कमल प्रसाद शर्मा ‘दिनेश’ को सम्झनामा समर्पित गरिएको हो। उनी भगवती प्रधानका जीवनसाथी तथा तत्कालीन बटालियन कमिसार थिए, जसले २०६२ साल वैशाख २६ गते सिराहाको बन्दीपुर मोर्चामा वीरगति प्राप्त गरेका थिए।
गीतको शब्द तथा परिकल्पना भगवती प्रधानले तयार गरेकी हुन् भने गायन निर्मला घिसिङको, संगीत तथा एरेन्ज रमण थामीको रहेको छ।
निर्देशन मिराज बिक्रम सिंह, सह निर्देशन रमण थामी, छायांकन रणधिर श्रेष्ठ, सम्पादन अमीत बिक द्वारा गरिएको यस म्युजिक भिडियोमा मिराज बिक्रम सिंह, मान्सी शर्मा लगायत कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।
यो एल्बम रमण थामी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
२०५६ साल साउन १७ गते आजकै दिन जनयुद्धमा सहभागी भएकी भगवती प्रधानको सांगीतिक अभिव्यक्ति यस एल्बममार्फत जनयुद्धकालीन पीडा, प्रेम र प्रतिवद्धताको दस्तावेज बनेको छ।
कार्यक्रमले संगीतमार्फत शहिदहरूको योगदान स्मरण गर्दै, कला र क्रान्तिको सम्बन्धलाई सशक्त ढंगले प्रस्तुत गरेको सहभागीहरूको भनाइ थियो।








