काठमाडौं । यसपालि दसैंमा दुई ‘जीवित’ देवी–देवताले चर्चा पाए — काठमाडौंकी ‘जीवित देवी’ कुमारी र भक्तपुरका ‘जीवित देवता’ श्वेत भैरव।
दसैंको अष्टमीका दिन साढे दुई वर्षकी आर्यतारा शाक्यलाई राजकीय कुमारीमा स्थापना गरिएको थियो। त्यसैको दुई दिनपछि विजया दशमीका दिन साढे दुई वर्षका रिसब बनमाला भक्तपुरको नवदुर्गा देवगणका श्वेत भैरव बने।
यी दुवै जीवित देवता सामाजिक सञ्जालमा भाइरल छन्। उनीहरूको अबोधपनाको धेरैले तारिफ गरिरहेका छन्। श्वेत भैरवलाई त धेरैले भनिरहेका छन्, ‘आहा, क्या क्यूट भगवान!’
हामीले यसअघि कुमारी आर्यतारा को हुन् भनेर लेखेका थियौं। यो स्टोरीमा श्वेत भैरव रिसब को हुन् र उनको स्वभाव कस्तो छ भनेर चर्चा गर्दैछौं।
रिसबको घर भक्तपुरको नवदुर्गा मन्दिर नजिकै छ। उनी आमा सत्यलक्ष्मी, बुबा रविन्द्र, हजुरआमा र दुई दिदीसँग बस्छन्।
काठमाडौंकी आर्यतारा कुमारी बनेपछि परिवारबाट अलग बसेजस्तो श्वेत भैरवले परिवारबाट अलग्गिनु पर्दैन। उनी भगवान बन्ने समयमा मात्र बाहिर निस्कन्छन्। अरू बेला सामान्य बालकको जीवन बाँच्छन्। उनी अहिले प्रि–नर्सरीमा पढिरहेका छन्।
विजया दशमीको दिन भगवान बनेपछि रिसब यो शनिबार दत्तात्रय मन्दिर परिसरमा श्वेत भैरवका रूपमा देखिएका थिए। उनी नवदुर्गा मन्दिरबाट सेतो वस्त्र र गरगहना लगाएर भगवानका रूपमा बाहिर निस्किए। हिँड्दै, दौडिँदै, कहिले आफन्तको बुइँ चढ्दै उनी दत्तात्रयस्थित वाने लायकू प्रवेश गरे। त्यहाँ तान्त्रिक पूजाविधि र नाच भयो।








