सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सम्मानको माध्यमबाट योगदानको पहिचान : नोजाको बाह्रौँ अनर अवार्ड

काठमाडौं । कुनै पनि क्षेत्रमा गरिएको सकारात्मक योगदानको मूल्यांकन र सम्मानले सम्बन्धित व्यक्तिलाई मात्र होइन, नयाँ पुस्तालाई समेत प्रेरणा दिने गर्छ। यही उद्देश्यलाई निरन्तरता दिँदै राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)ले विभिन्न क्षेत्रका योगदानकर्तालाई बाह्रौँ नोजा अनर अवार्डबाट सम्मान गरेको छ। नोजाले पत्रकारिता र सञ्चार क्षेत्रसँगै समाजका अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वलाई समेत आफ्नो सम्मान अभियानमा समेट्दै आएको छ।

यस वर्ष बैंकिङ तथा सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। त्यस्तै वरिष्ठ गायक आनन्द कार्की, निर्माण व्यवसायी बलिभद्र राना र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाललाई विशिष्ट अनर अवार्ड प्रदान गरिएको छ। विशेष अभियन्ता अनर अवार्ड डा. लक्ष्मीप्रसाद राई र कुमार कार्कीले प्राप्त गरेका छन्। कला र सिर्जनाको क्षेत्रमा चाँदनी शाक्य उत्कृष्ट गायिका, सन्तोष श्रेष्ठ उत्कृष्ट संगीतकार, झरना रिसाल उत्कृष्ट अभिनेत्री तथा विकास लामिछाने उत्कृष्ट अभिनेता घोषित भएका छन्।

साहित्यतर्फ ज्ञाननिष्ठ ज्ञवाली, सामाजिक क्षेत्रमा दिनेश न्यौपाने तथा युवा व्यवसायीतर्फ सरोज महर्जन, सहाङ लावती लिम्बु र बैकुण्ठ दाहाल सम्मानित भएका छन्। रिता तामाङलाई उत्कृष्ट मेकअप आर्टिस्ट अवार्ड प्रदान गरिएको छ।महिला उद्यमशीलता तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका रिता अवाल, बिन्दु ज्ञवाली, सोभिता धमला, शीतल शर्मा र कुमुद भट्टले उत्कृष्ट महिला अनर अवार्ड प्राप्त गरेका छन्। स्वास्थ्य सेवातर्फ ओम चाबहिल डेन्टल हस्पिटलका सञ्चालक कृष्ण घिमिरेलाई स्वास्थ्य सम्मान अनर अवार्ड प्रदान गरिएको छ।

यसैगरी ११ हजार १११ रुपैयाँ राशिको पत्रकारिता पुरस्कार सामना देवकोटालाई प्रदान गरिएको छ। कार्यक्रममा नोजा अध्यक्ष मुकुन्द ढुंगानाले अवार्डलाई सम्मानसँगै जिम्मेवारी र प्रेरणाको माध्यमका रूपमा अघि बढाइएको बताए। उनका अनुसार शिक्षा, स्वास्थ्य, कला, साहित्य, व्यवसाय, उद्यमशीलता र सामाजिक सेवामा योगदान गर्ने व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्नु अभियानको महत्वपूर्ण पक्ष हो।

प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले योगदानकर्ताको सम्मानले समाजमा सकारात्मक काम गर्ने संस्कारलाई प्रोत्साहन गर्ने बताए। उनले अनलाइन पत्रकारिताको प्रभाव बढिरहेको अवस्थामा सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, आईटी विज्ञ हरिराम रिमाल, वरिष्ठ पत्रकार राजेन्द्र लुईटेल, महिला उद्यमी सरिता भट्टराईलगायतको उपस्थिति थियो।

भर्खरै

सम्बन्धित खबर

Language »