काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक– धुलिखेल सडक विस्तार कार्यमा सुस्त प्रगति देखिएको छ । साइट क्लियरको काम समयमै नसकिँदा समग्र आयोजनाको निर्माण कार्य आधा पनि पुग्न सकेको छैन । आयोजनाले अब आउँदो २०८३ असार मसान्तसम्म काम सक्ने गरी म्याद थपको तयारी गरेको छ ।
सूर्यविनायक–धुलिखेल सडक आयोजनाका प्रमुख विजय कुमार महतोका अनुसार आयोजनाको पहिलो प्याकेजको म्याद मंसिर १८ र दोस्रोको पुस २४ मा सकिँदै छ ।
आयोजनाले दुवै ठेक्काको म्याद असार मसान्तसम्म थप्ने तयारी गरेको छ । ‘म्याद थप्नेबारे छलफल भइरहेको छ,’ महतोले भने, ‘हामी एसेसमेन्ट गर्दै छौँ । एसेसमेन्ट गरेपछि उसको कति थप्नुपर्न आवश्यक छ, कति उसले थप्दाखेरी पुग्छ र कति मर्का पर्या छ त्योअनुसार थप्छौँ । कति दिन उसले काम गर्न पाएन, यी विषयहरू निकालेर त्योअनुसार म्याद थप पाउँछौँ । हामीले ठेकेदार कम्पनीहरूलाई असारभन्दा उता काम नलैजान दबाब दिएका छौँ ।’
आयोजनाकै कारण निर्माणमा ढिलाइ भएको, आयोजनाले समयमा साइट क्लियरका काम नगरेकाले निर्माणमा ढिलाइको दोष ठेकेदारलाई दिन नमिल्ने उनको भनाइ छ । यही कारणले म्याद थप गर्दा निर्माण कम्पनीलाई कुनै हर्जना लाग्ने छैन ।
उनले स्पष्ट पारे, ‘हाम्रै कारण ढिलो भएको छ, समयमा बिजुलीका पोल सारिदिएनौँ, घरटहराहरू समयमा हटाइदिएनौँ । लामो समयदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गरेका मानिसहरू हत्तपत्त मान्दैनन् । घर टहरामा मुआब्जा वितरण नगरी हटाउनुपर्ने चुनौती थियो । अब अर्को विद्युत् प्राधिकरणसँग इन्टर एजेन्सी कोअर्डिनेसनको कमी भयो । हामीले भन्नबित्तिकै उसले हटाइदिएन । यस कारणले यो सडक विस्तारमा ढिलाइ भयो ।’
सडक सीमाभित्र सार्वजनिक जग्गामा बनेको हुनाले सरकारले यी घरटहराका लागि मुआब्जा नदिने निर्णय गरेसँगै बिनामुआब्जा हटाएको हो ।
यी विविध समस्या आयोजनाले समाधान गर्न नसक्दा सडक विस्तारमा ढिलाइ भएको र निर्माण कम्पनीको कुनै दोष नभएको उनको भनाइ छ ।
सडक खण्डलाई मुख्य सडक र सर्भिस लेन गरी ६ लेनम विस्तार गर्न भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरिएको छ । यो सडक खण्ड विस्तार भएपछि काठमाडौँ उपत्यकाबाट पूर्वी पहाडी र तराई जिल्ला र चीनसँगको तातोपानी नाकासम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ । तर निर्माणको सुस्त गतिले यात्रुहरूले अझै केही समय धुलो र हिलोको सास्ती खेप्नुपर्ने देखिएको छ ।
सूर्यविनायक–साँगा खण्ड ४० प्रतिशत काम
यो सडकको कुल लम्बाइ १५.८ किलोमिटर छ, जसलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ, जसमध्ये एउटा खण्ड हो– सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । उक्त खण्ड स्तरोन्नतिका लागि आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते जिम्मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद २०८२ पुस २७ सम्म मात्र छ । हालसम्म यसको भौतिक प्रगति ४० प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।
साँगा–धुलिखेल खण्डमा ५५ प्रतिशत
दोस्रो खण्ड साँगा–धुलिखेलमा ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । दोस्रो प्याकेजअन्तर्गत बनेपा–धुलिखेल क्षेत्रमा करिब चार किलोमिटर सडक कालोपत्रे भए पनि अधिकांश काम बाँकी छ ।
साँगा–धुलिखेल खण्डको दूरी ८.३ किमि छ । लामा कन्स्ट्रक्सनले २०७९ मंसिर १८ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो । निर्माण प्रगति ४८ प्रतिशत रहेको यस खण्डको म्याद भने आगामी मंसिर १८ सम्म रहेको छ ।
साइट क्लियरको काम अझै १० प्रतिशत बाँकी
आयोजना प्रमुख महतोले सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण साइट क्लियरको काम नसकिनु भएको आयोजना प्रमुख महतोले बताएका छन् ।
उनका अनुसार हालसम्म ९० प्रतिशत साइट क्लियरको काम सकिएको छ । अझै १० प्रतिशत साइट क्लियरको काम बाँकी छ । जसमा करिब १०–१२ वटा घर–टहरा र बिजुलीका पोलहरू हटाउन बाँकी छ ।
‘घरटहरा, पोलका कामहरू मेजर ठाउँमा सकियो, अरू अलिअलि अझै सार्नै बाँकी छ,’ महतोले भने, ‘साथै, मुआब्जा दिनु नपर्ने अतिक्रमण गरिएका संरचना हटाउँदा स्थानीयबाट अवरोध आएकाले पनि काममा ढिलाइ भयो ।’








