सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

असंवैधानिक सरकारको अन्त्य एमालेले नै गर्छ : छविलाल विश्वकर्मा

काठमाडौं। नेकपा (एमाले) रुपन्देहीले शुक्रबार बुटवलमा बृहत् जनप्रदर्शन र सभा गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना, संविधानको रक्षाका लागि एमालेले जनप्रदर्शनसहित सभा गरेको हो ।

राजमार्ग चौराहाबाट सुरू भएको र्‍याली बुटवलको ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो । र्‍याली र सभामा केन्द्र, प्रदेश र जिल्ला तहका नेता तथा रुपन्देहीका १६ वटै पालिकाबाट उल्लेख्य संख्यामा कार्यकर्ता, समर्थक र युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले वर्तमान सरकारले संविधानविपरीत र जनमतको अवहेलनासहित शासन गरिरहेको टिप्पणी गरे । उनले भने, “आजको सरकार संविधानको अक्षर र भावना दुवै विपरीत चलेको छ । यस्तो असंवैधानिक सरकारको अन्त्य एमालेले नै गर्छ ।”

एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग समयको आवश्यकता भएको उल्लेख गर्दै स्थिरता र सुशासनका लागि एमालेकै नेतृत्व अपरिहार्य भएको धारणा व्यक्त गरे । उनका अनुसार, जारी राजनीतिक अस्थिरता लगायतका समस्या समाधान गर्न सक्षम नेतृत्व एमालेसँग मात्रै छ ।

एमाले रुपन्देहीका जिल्ला अध्यक्ष यज्ञ गैरेले युवाहरूका रोजगार, अवसर र क्षमता विकासका मागबारे जोड दिँदै जेनजी पुस्ताले अपेक्षा गरेको परिवर्तन एमालेले मात्र पूरा गर्न सक्ने दाबी गरे । “युवा पुस्ताको ऊर्जा राष्ट्र निर्माणको मूल आधार हो । उनीहरूको माग सुन्न र सम्बोधन गर्न सक्षम पार्टी एमाले मात्र हो,” अध्यक्ष गैरेले भने ।

एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघका पूर्वउपाध्यक्ष राजु गुरुङले सरकार निर्माण प्रक्रिया असंवैधानिक र गैर–लोकतान्त्रिक भएको टिप्पणी गर्दै प्रतिपक्षको भूमिकाबाट एमाले जनताको अधिकारको पक्षमा दृढतापूर्वक खडा रहेको बताए ।

युवा संघका पूर्वमहासचिव सुमन पुरीले युवा नेतृत्व, डिजिटल अर्थतन्त्र, रोजगारी र परिवर्तनशील प्रविधिमा जेनजीको आकांक्षा सम्बोधन गर्ने योजनासहित एमाले अघि बढेको बताए ।

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य सागर न्यौपानेले विद्यार्थीसँग जोडिएका शिक्षा, रोजगारी र अवसरसम्बन्धी मुद्दामा एमालेले उठाउँदै आएका कदमलाई उल्लेख गरे ।

सभामा वक्ताहरूले संविधान, लोकतन्त्र र जनअधिकारको संरक्षणका लागि हुने संघर्षमा जनताको साथ अपरिहार्य भएको दोहोर्‍याएका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »