काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले संकटबाट भाग्ने होइन त्यसको सामना गर्ने पार्टी भएको बताएका छन् ।
पार्टीले आयोजना गरेको प्रतिगामी षडयन्त्रका विरुद्ध जनपरिचालन कार्यक्रमअन्तर्गत नेपालगञ्जको जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान देशको संकटको निकास एमालेको अगुवाईमा मात्र सम्भाव रहेको बताएका हुन् ।
भदौ २३ र २४ गतेको तोडफोड र विध्वंस नेपाललाई कमजोर पार्नका लागि रचिएको षडयन्त्र भएको उनको भनाइ छ ।
सिंहदरबार, सर्वोच्च अदालत जस्ता निकायमा आगो लगाएर राज्यमाथि गम्भीर अपराध गरिएको उनले बताए । यसमा को–को संलग्न थिए भन्ने कुरा खुल्दै जाने पोखरेलले बताए ।
यस विध्वंसमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको संलग्नताप्रति लक्षित गर्दै पोखरेलले भने, ‘देशैभरीका धेरै स्थानीय तह र वडा कायालयहरु जलाइए । तोडफोड गरिए । तर काठमाडौं महानगरमा केही गरिएन । वडाहरुमा केही गरिएन । शितलनिवास जलाइयो छेउमै रहेको निर्मल निवासमा एउटा ढुंगा पनि लागेन । यसबाट यो आगजनी र तोडफोडमा को संलग्न छ भनेर सहजै बुझ्न सकिन्छ ।’
महासचिव पोखरेलले एमालेका नेता कार्यकर्ता देशमा लोकतन्त्र ल्याउनका लागि लामो समय जेल बसेका, भूमिगत बसेका भएकोले लोकतन्त्र विरोधी सानातिना हमलाबाट विचलित हुनु नहुने बताए ।
‘एमालेका नेता कार्यकर्ता लोकतन्त्र प्राप्तीका लागि लामो समय जेल बस्यौँ । लामो समय भूमिगत बस्यौँ । त्यसैले हामीलाई संकटसँग जुध्ने अनुभव छ’ पोखरेलले भने, ‘षडयन्त्रकारीलाई लागेको थियो पार्टी कार्यलय जलाएपछि एमाले सकिन्छ । घर जलाइपछि नेता कार्यकर्ता सकिन्छन् । तर अहिले मैदानमा हेर्नुभयो भने एमाले भन्दा अरु कुनै शक्ति देख्नु भएको छ ?’
महासचिव पोखरेलले राजनीतिक दलका कार्यकर्तालाई उच्च मनोबलका साथ पार्टी काममा खटिन आह्वान गरे ।








