सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालेन र रविसँग मिलाउन सुदनले गाडीमा राखेर लगे कुलमानलाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका छन्।

त्यसै क्रममा सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले अहिले कुलमान घिसिङलाई आफैले गाडीमा राखेर बालेन र रविसँग वार्ता गराउन लगिरहेको स्रोतले बताएको छ। कुलमानलाई वार्ता स्थल लिएर जानेमा जेम्स कार्की र ओजस्वी थापा पनि छन्।

उक्त वार्तामा सहभागी हुन रवि लामिछाने भर्खरै रास्वपाको जारी केन्द्रीय समिति बैठक छाडेर हिँडेका छन्।

लगभग अनिर्णित अवस्थामा पुगिसकेको वार्ता फेरि सुरू गरेर निकास खोज्ने प्रयास भइरहेको एक रास्वपा नेताले जानकारी दिए। कुलमान पक्षले पनि यसलाई पुष्टि गरेको छ।

यसअघि सुदन गुरूङले रास्वपा कार्यालयमै गएर केन्द्रीय समिति बैठक सुरू हुनुअघि कुलमानलाई पनि मिलाएर लैजान दबाब दिएका थिए।

स्रोतका अनुसार कुलमानले रास्वपामा आफ्ना लागि सह-सभापति पद माग गरेका छन्। सँगसँगै, केन्द्रीय समितिदेखि समानुपतिक सूची र प्रत्यक्ष उम्मेदवारतर्फ ३० प्रतिशत हिस्सा उज्यालो नेपाल पार्टीले पाउनुपर्ने उनको माग छ।

रास्वपा पक्षले भने अहिलेको अवस्थामा कुलमानको नयाँ पार्टीले ३० प्रतिशत हिस्सा माग गर्नु अत्यन्तै धेरै भएको बताएको छ।

त्यही भएर उसले १५ प्रतिशतभन्दा बढी हिस्सा दिन नसकिने जबाफ दिएको थियो।

कुलमानलाई पनि सहसभापति होइन, बरू उपसभापति दिन सकिने प्रस्ताव गरिएको रास्वपा स्रोत बताउँछ।

रास्वपाको यो प्रस्ताव कुलमानले अस्वीकार गरेपछि उनीहरूको वार्ता अनिर्णित बनेको थियो, जुन जेनजीहरूको सहजीकरणमा फेरि सुरू हुन लागेको हो।

भर्खरै

सम्बन्धित खबर

Language »