काठमाडौं । ग्रीन सिटी हस्पिटलले आफ्नो सेवाको १२ वर्ष पुराभई १३ औं वर्षमा प्रवेश गरेको अवसरमा आज एक भव्य कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ उपस्थित हुनुहुन्थ्यो भने टोखा वडा नंं ७ का वडाध्यक्ष नरोत्तम राना,समाजसेवी तोयानाथ पौडेल ,हस्पिटलका संचालक समिति,शेयर सदस्यहरु लगायत अन्य समाजसेवी तथा विशिष्ट व्यक्तिको उपस्थित रहेको थियो ।
कार्यक्रम संचालिकाको भुमिकामा चर्चित लोक दोहोरी गायीका मन्जु पौडेल रहनु भएको थियो भने कार्यक्रमको व्यवस्थापन चर्चित गायक तिलक बस्नेत र समाजसेवी कमल जि.सी.ले गर्नु भएको थियो ।
स्थापना कालदेखि नै गुणस्तरीय, सर्वसुलभ तथा सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले स्थापना काल देखि आज सम्म आई पुग्दा आफ्नो सामाजिक उत्तरदायीत्व अन्तरगत करिब ५०० जनाको निःशुल्क उपचार गरेको आजको कार्यक्रममा हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले बताउनु भयो ।
वार्षिकोत्सव समारोहको अवसरमा हस्पिटलले स्वास्थ्य सेवामा रहेर अहोरात्र खटि हस्पिटललाई यस स्थान सम्म ल्याउन उल्लेख्य योगदान गर्ने डा. माया भट्टचन, डा. अनिल भट्टराई, डा. सन्त कुमार कुमार दास, डा. बिनोद शेरचन, डा. बिपिन कुमार श्रेष्ठ र डा. लखनलाल शाहलाई बिशेष सम्मान गरेको थियो ।
त्यस्तै सञ्चार, सामाजिक तथा कला क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाउने सामाजिक अभियन्ता कमल जी.सी., सञ्चारकर्मी तथा सामाजिक अभियान्ता डि बि पराजुली,सामाजिक व्यक्तिव सञ्चारकर्मी अर्जुन भुसाल, भोजराज थापा, मोहन बस्नेत, भुवन भुसाल तथा कलाकारहरु तिलक बस्नेत र रमेश दुलाल (कागे) लाइ सम्मान तथा कदरपत्र प्रदान गरेको थियो ।
आज हस्पिटलको तर्फबाट विशेष रूपमा अपाङ्गता भएका दुई जना व्यक्ति नीलमणि भण्डारी र बालिका सुशान्ति भट्टालाई हौसला र प्रेरणाका लागि सम्मान सहित उहाहरुलाई जीवनभर निःशुल्क सेवा प्रदान गर्ने प्रतिबद्दता गरिएको थियो ।
कार्यक्रमको अवसरमा हस्पिटलका सम्पूर्ण कर्मचारीहरूलाई उपहार प्रदान गरी उनीहरूको समर्पण र सेवाको कदर गरिएको थियो ।
कार्यक्रममा हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले यस वर्ष २०० भन्दा बढी मुटु सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै, हस्पिटलको स्वास्थ्य सेवा क्षमताको उच्च मूल्यांकन गरेको बताए । जेंजी आन्दोलनमा आफु पनि घटनामा परि नया जीवन पाएको र त्यो घटनाले थप सामाजिक सेवामा तल्लिन भएको बताउनु भयो ।
समारोहमा हस्पिटलका कर्मचारी तथा नर्सहरुको विभिन्न सांगीतिक तथा नृत्य प्रस्तुति राखिँदै, सम्मान तथा पुरस्कार वितरण गरी समारोह उत्साहपूर्ण रूपमा सम्पन्न गरिएको थियो ।
ग्रीन सिटी हस्पिटलले आगामी दिनमा अझ आधुनिक प्रविधि र प्रभावकारी स्वास्थ्य सेवा विस्तार गर्दै नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।








