सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हृदयघातका लक्षण र रोकथामको उपाए

काठमाडौं । पछिल्लो समय नेपालमा हृदयघातका घटनाहरू बढ्दै गएका छन् । उमेर नपुगेका, बाहिरबाट स्वस्थ देखिने व्यक्तिहरूमा समेत अचानक हृदयघात हुने घटनाले आम नागरिकमा चिन्ता बढाएको छ ।

चिकित्सकहरूका अनुसार हृदयघात हुनुका पछाडि मुख्यतः अस्वस्थ जीवनशैली, मानसिक तनाव र मुटुसम्बन्धी जोखिम कारकहरू जिम्मेवार छन् ।

विशेषज्ञका अनुसार हृदयघात तब हुन्छ, जब मुटुलाई रगत पुर्‍याउने कोरोनरी धमनी अचानक बन्द हुन्छ । धमनीभित्र लामो समयदेखि जमेको बोसो (कोलेस्ट्रोल) फुट्दा रगत जमेर थक्का बन्ने र मुटुको मांसपेशीले अक्सिजन नपाउँदा हृदयघात हुने गर्छ ।

चिकित्सकहरू भन्छन्– उच्च रक्तचाप, मधुमेह, धुम्रपान, अत्यधिक मदिरा सेवन, असन्तुलित खानपान र शारीरिक निष्क्रियता हृदयघातका प्रमुख कारण हुन् ।

पछिल्लो समय मानसिक तनाव, अनियमित जीवनशैली र निद्राको कमीले पनि जोखिम बढाएको उनीहरूको भनाइ छ । विशेषगरी शहर केन्द्रित जीवनशैली, फास्ट फुडको बढ्दो प्रयोग र लामो समयसम्म शारीरिक गतिविधि नगर्ने बानीले युवामा समेत मुटु रोगको जोखिम बढाएको चिकित्सकहरू बताउँछन् । परिवारमा मुटु रोगको इतिहास भएका व्यक्तिमा जोखिम अझ बढी हुने बताइन्छ । बरिष्ठ कलाकार सुनिल थापाको शनिबार विहान हृदयघातका कारण निधन भएपछि हृदयघातप्रति आम मानिसलाई झस्काएको छ ।

लक्षणहरु:

हृदयघातका बेला छाती दुख्ने वा भारी महसुस हुने, बायाँ हात, घाँटी, ढाड वा जबडातिर दुखाइ फैलिने, सास फेर्न गाह्रो हुने, अत्यधिक पसिना आउने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन सक्छन् । यस्ता लक्षण देखिए तुरुन्त नजिकको अस्पताल पुर्‍याए ज्यान जोगिन सक्ने चिकित्सकहरू बताउँछन् ।

रोकथाम सम्भव छ

स्वास्थ्य विज्ञहरूका अनुसार हृदयघात पूर्ण रूपमा रोक्न नसकिए पनि जोखिम भने धेरै हदसम्म घटाउन सकिन्छ । नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपान नगर्ने, तनाव व्यवस्थापन गर्ने, पर्याप्त निद्रा लिने र समयसमयमा स्वास्थ्य परीक्षण गराउने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार नियमित व्यायाम, सन्तुलित आहार, धुम्रपानबाट टाढा रहने, तनाव व्यवस्थापन गर्ने र नियमित स्वास्थ्य परीक्षण गर्ने हो भने हृदयघातको जोखिम धेरै हदसम्म कम गर्न सकिन्छ ।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । उनले अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्ने गरेको उल्लेख गर्दै त्यसमध्येमा ६५ लाख मानिसहरू अल्पायूमै मर्ने गरेको बताए ।

उनले भने, ‘अहिले मुटुको रोग एक नम्बर हत्याराको रूपमा विश्वव्यापी रूपमा स्थापित भएको छ । अहिले वर्षेनी मुटुको रोगबाट दुई करोड मानिसहरू मर्छन् । अब त्यसमध्ये ६५ लाख मानिसहरू त अल्पायुमै मर्छन् । अल्पायू भनेको यो ४० वर्षभन्दा कम उमेरमै मर्छन् मुटुको रोगबाट । ६५ लाखभन्दा बढी मान्छेहरू ।’

यसैगरी, नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्ने गरेको उनी बताउँछन् । विकसित राष्ट्रहरूभन्दा पनि हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् मुटुको रोग धेरै हुने गरेको डा. रेग्मीको भनाई छ ।

‘हाम्रो नेपालमा ३० हजार मानिसहरू मुटुको रोगबाट मर्छन् । मुटुको रोग बढ्ने क्रममा छ । हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा झन् धेरै छ,’ उनी भन्छन्, ‘विकसित राष्ट्रहरूभन्दा मुटुको रोग जुन बढिरहेको छ, यसलाई रोकथाम गर्नका लागि एकदमै जरूरी छ । यो रोकथाम गर्नका लागि मानिसहरूलाई सचेत बनाउन एकदमै जरुरी छ ।’

मुटुरोग विशेषज्ञ डा. रेग्मीका अनुसार मुटु रोग विश्वका लागि सबैभन्दा खतरनाक स्वास्थ्य समस्या बनेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »