प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले पराजय व्यहोरेपछि गण्डकीका जिल्ला अध्यक्षहरूले पार्टी पुनर्गठनको बहस चलाउन थालेका छन्।
केही दिनअघि गण्डकीका जिल्ला अध्यक्षहरू भेला भएर पार्टी पुनर्गठनबारे समान धारणा तय गरेको स्याङ्जा अध्यक्ष पारश गैरे सुरेशले जानकारी दिएका छन्।
उनका अनुसार भेलामा एमाले पर्वत अध्यक्ष गोविन्द गिरी पहाडी, तनहुँ अध्यक्ष हरिराज कँडेल, मुस्ताङ अध्यक्ष दीपक लालचन, कास्की अध्यक्ष बैनबहादुर क्षेत्री, म्याग्दी अध्यक्ष बालकृष्ण सुवेदीलगायत थिए। मनाङ अध्यक्ष पोल्देन छोपाङ गुरूङ भने उपस्थित थिएनन्।
भेलालले चार बुँदे समान धारणा तय गरेको स्याङ्जा अध्यक्ष सुरेशले सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका छन्।
उनका अनुसार सामूहिक छलफलमा पार्टीको केन्द्रदेखि स्थानीय तहसम्म परिस्थितिको वस्तुनिष्ठ समीक्षाको जरूरी आवश्यकता रहेको निष्कर्ष निकालिएको छ। समीक्षाको थालनी यथाशीघ्र माथिबाट गर्नुपर्ने निचोडमा उनीहरू पुगेका छन्।
सबै तहको पार्टी नेतृत्व र कार्यशैलीमा व्यापक रूपान्तरण र पुनर्गठन गर्नुपर्नेमा गण्डकीका अधिकांश अध्यक्षहरू एक मत देखिएका छन्। त्यसका लागि आफूहरू तयार रहेको उनले बताएका छन्।
निर्वाचनको परिणामलाई समीक्षा गर्दै वामपन्थी, देशभक्त तथा राष्ट्रवादी शक्तिहरूका बीच आत्मालोचनासहित संवाद र सहकार्यको गम्भीर आवश्यकता बोध गरिएको पनि सुरेशले बताए।
पार्टी, जनप्रतिनिधि र जनतासँगको अन्तरसम्बन्धको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेलाएको र यसैको आधारमा र नयाँ ढंगले अघि बढ्नुपर्नेमा गण्डकी प्रदेशका १० वटा जिल्ला अध्यक्षहरूको साझा धारणा रहेको गैरेले बताए।
यसलाई आफूहरूले बहसमा लैजान चाहेको पनि उनले बताएका छन्।
हालै भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ १६५ मध्ये ९ स्थानमा मात्रै जित हासिल गरेको थियो। गण्डकी प्रदेशमा एमालेले एक सिट पनि जितेको थिएन।








