सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

काठमाडौं / नेपाल महिला चेम्बरले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिक उत्सव (हीरक जयन्ती)को अवसरमा देशका विभिन्न क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएका अग्रणी नेपाली महिलाहरूलाई विशेष समारोहबीच सम्मान गरेको छ।

अग्रणी महिला सम्मान’ शीर्षकमा आयोजित कार्यक्रममा राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकुद लगायत विविध क्षेत्रमा उल्लेखनीय योगदान दिएका जीवित तथा दिवंगत महिला व्यक्तित्वहरूको स्मरण गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।

उक्त सम्मान रामवरण यादव, हीरक जयन्ती समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठ, चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल तथा नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ ले संयुक्त रूपमा प्रदान गर्नुभएको थियो।

कार्यक्रममा प्रथम महिला सभामुख ओनसरी घर्ती मगर, पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पहिलो महिला इन्जिनियर शान्ति मल्ल, शिक्षाविद् अगाथा थापा, पहिलो महिला कमर्शियल पाइलट रक्षा राणा, लैंगिक अधिकार विज्ञ चाँदनी जोशी, उद्यमी श्याम बदन श्रेष्ठ लगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरू सम्मानित भए।

त्यसैगरी लायन्स तथा रोटरी क्षेत्रमा सक्रिय मिलन थापा र जया राज्यलक्ष्मी शाह, पूर्व मुख्यसचिव लिला देवी गड्तौला, अर्थशास्त्री डा. पुष्पा श्रेष्ठ, कलाकार उर्मिला उपाध्याय गर्ग तथा भुवन चन्द, प्रशासक उषा नेपाल, प्रहरी अधिकृत बिमला थापा शर्मा, नेपाल राष्ट्र बैंककी नीलम ढुंगाना तिम्सिना लगायतलाई पनि सम्मान समर्पण गरिएको थियो।

विशेष रूपमा ओलम्पियन संगिना वैद्य, दृष्टिविहीन शिक्षिका सीता ग्यावाली, चेपाङ समुदायकी मनजू प्रजा, सामाजिक अभियन्ता अञ्जली देवी मास्के, प्रथम मिस नेपाल रुबी राणा शाह, कलाकार स्नेहा श्रेष्ठ, अभिनेत्री मनीषा कोइराला लगायतलाई सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी तथा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की को योगदानको विशेष स्मरण गरिएको थियो।

त्यसैगरी योगमाया न्यौपाने, साहित्यकार पारिजात, शैलजा आचार्य, सहाना प्रधान, सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा लगायत दिवंगत व्यक्तित्वहरूको योगदानको कदर गर्दै सम्मान समर्पण गरिएको थियो।

कार्यक्रममा नेपाल महिला चेम्बरसँग आबद्ध भई हालै सम्पन्न निर्वाचनबाट संघीय सांसद बन्न सफल लिमा अधिकारी, बसुमाया तामाङ, नीतिमा कार्की भण्डारी र इन्दिरा राना मगरलाई पनि विशेष सम्मान तथा बधाई ज्ञापन गरिएको थियो।

कार्यक्रममा केही सम्मान प्रत्यक्ष उपस्थितिमा प्रदान गरिएको थियो भने दिवंगत व्यक्तित्वहरूका परिवारजनमार्फत सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ। साथै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठलाई समेत विशेष रूपमा सम्मान गरिएको थियो।

सो अवसरमा पूर्व राष्ट्रपति रामवरण यादवले देशका अग्रणी तथा पथप्रदर्शक महिलाहरूलाई सम्मान गर्न पाउनु गौरवको विषय भएको उल्लेख गर्दै यस्ता व्यक्तित्वहरूले नयाँ पुस्तालाई प्रेरणा र ऊर्जा प्रदान गरिरहेको बताउनुभयो।

समारोह समितिका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल चेम्बर अफ कमर्सको २००७ सालमा स्थापना भएदेखि निरन्तर रूपमा राष्ट्रको आर्थिक विकासमा योगदान रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्थाको गरिमा थप उचो बनाएको धारणा राख्नुभयो।

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले यस्ता कार्यक्रमहरूले नेपाली महिलाहरूको योगदानलाई राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमा समेत उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले महिला सशक्तिकरण, उद्यमशीलता विकास तथा नेतृत्व विस्तारलाई संस्थाले प्राथमिकतामा राख्दै आएको बताउनुभयो।

सम्मानित व्यक्तित्वका तर्फबाट बोल्दै चाँदनी जोशीले ऐतिहासिक योगदान बोकेका महिलाहरूको सम्मानका लागि कार्यक्रम आयोजना गरिएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको समापनमा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

भर्खरै

सम्बन्धित खबर

Language »