काठमाडौं / काठमाडौंको चाहावेल चोकमा शनिबार सम्पन्न निःशुल्क दन्त तथा स्वास्थ्य शिविरले स्थानीयवासीहरूको मात्र होइन, यहाँ आएका वृद्धवृद्धा र बालबालिकाको मनसमेत छुएको छ। ॐ समाज डेन्टल अस्पताल र मेडिकेयर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा बिहानैदेखि सेवाग्राहीहरूको लामो भीड देखियो।
दाँतको पीडा सहेर वर्षौं बिताएका मानिसहरू, आफ्ना बालबालिकाको स्वास्थ्यप्रति चिन्तित अभिभावकहरू, सबै एउटै आशाका साथ आएका थिए—“अब पीडाबाट मुक्त हुनेछौं।” चिकित्सकहरूको आत्मीय व्यवहार र सेवाभावले उनीहरूको यो विश्वासलाई भरोसामा बदल्दै थियो।
शिविरमा दन्त परीक्षण, सामान्य उपचार, परामर्श र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। बालबालिकालाई दाँत सफा राख्ने सही तरिका सिकाइयो भने वृद्धवृद्धालाई दीर्घकालीन दन्त समस्या रोक्ने उपायबारे जानकारी दिइयो। धेरैले पहिलोपटक यति व्यवस्थित र निःशुल्क सेवा पाएको अनुभव सुनाउँदै आयोजकप्रति आभार व्यक्त गरे।
ॐ समाज डेन्टल अस्पतालका वरिष्ठ सर्जन डा. सुवास घिमिरेले भने, “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु उत्तम उपाय हो। हाम्रो उद्देश्य यही हो।” उनले नयाँ वर्षको अवसरमा बनस्थली र चापागाउँ दोबाटोस्थित शाखाबाट सम्पूर्ण सेवामा २०% छुटको घोषणा पनि गरे।
शिविरमा २०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका थिए। मेचीदेखि महाकालीसम्मका नागरिकहरूको उपस्थितिले यस कार्यक्रमलाई राष्ट्रिय एकताको झल्कोसमेत बनाएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ इन्द्र अन्नपूर्ण, तार्केश्वर क्लब ६०, र योगदान राष्ट्रका लागि संस्थाकी केन्द्रीय महिला तथा बालबालिका प्रमुख शर्मिला थापाको सक्रिय सहभागिता रहेको थियो। शर्मिला थापाले भनिन्, “दुर्गम क्षेत्रसम्म यस्ता शिविर सञ्चालन हुँदा जनविश्वास बढिरहेको छ। बृद्धबृद्धाले ‘यो अस्पताल राम्रो छ’ भनेर खुशी व्यक्त गर्नु नै हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।”
यस्तै, मेडिकेयर अस्पतालले पनि समुदायमा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा पुर्याउने आफ्नो प्रतिबद्धता दोहोर्याएको थियो। अस्पतालका प्रशासन प्रमुख हरिभक्त सिग्देलले भने, “सेवा केवल कागजमा होइन, व्यवहारमा देखिनुपर्छ। यही हाम्रो मुख्य उद्देश्य हो।”
कार्यक्रमकै क्रममा सामाजिक अभियन्ता राजन थापाले ६८ वर्षीया एक आमाको सम्पूर्ण उपचार निःशुल्क गरिने घोषणा गर्दै सबैको मन छोए। यो घोषणा कार्यक्रमकै सबैभन्दा भावुक क्षण बनेको थियो।
यस प्रकारका शिविरहरूले केवल स्वास्थ्य सेवा उपलब्ध गराउने मात्र होइन, समाजमा आशा, विश्वास र मानवताको भावना जगाउने कार्य गर्दै आएका छन्। यो शिविरले स्पष्टसँग देखाएको छ—स्वास्थ्य सेवा जब सेवाभावसँग जोडिन्छ, तब केवल शरीर होइन, मन पनि निको हुन्छ।








