सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

“भान्साबाट भविष्यसम्म” — आमाछोदिङ्मोमा रैथाने सीपले जगायो नयाँ आशा

रसुवा, २३ चैत — हिमालको काखमा बसेको आमाछोदिङ्मो गाउँपालिकामा केही दिन यता भान्साबाट नयाँ कथा लेखिँदै थियो। पुराना स्वाद, परम्परागत परिकार र स्थानीय सामग्रीको सुगन्धसँगै यहाँका बासिन्दाले नयाँ भविष्यको सपना बुन्दै तीन दिने कुक तालिम सम्पन्न गरेका छन्।

गाउँपालिका–५, पुरानो तातोपानीमा सञ्चालन गरिएको उक्त तालिमले केवल खाना बनाउने सीप मात्र होइन, आत्मनिर्भर बन्ने आत्मविश्वास पनि दिएको सहभागीहरू बताउँछन्। आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा तालिम सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बुचुङ तामाङले स्थानीय मौलिकता नै पर्यटनको बलियो आधार भएको उल्लेख गर्दै “हाम्रो भान्सामा लुकेको पहिचानलाई संसारसम्म पुर्‍याउन सकिन्छ” भन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले चिलिमे तातोपानी क्षेत्रको पर्यटन विकासमा स्थानीय सीपको भूमिका महत्वपूर्ण हुने बताउँदै सिकेको ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

वडाध्यक्ष दावा गोम्बो तामाङले गाउँमै उपलब्ध स्रोतसाधनलाई सदुपयोग गरेर उत्पादन र उपभोगको संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभयो। “परिवर्तन टाढाबाट होइन, आफ्नै हातबाट सुरु हुन्छ,” उहाँको भनाइ थियो।

तालिममा सहभागीहरूका अनुसार यो कार्यक्रमले उनीहरूलाई केवल परिकार बनाउन होइन, आफ्नो गाउँमै सम्भावना खोज्न सिकाएको छ। होमस्टे सञ्चालनमार्फत आम्दानी गर्ने नयाँ बाटो खुलेको उनीहरूले महसुस गरेका छन्।

डा. अलखबाबु (आलोक) प्रसाईले होमस्टे पर्यटनका सैद्धान्तिक पक्षहरू प्रस्तुत गर्नुभएको थियो भने युवा सेफ बिजय घिमिरेले स्थानीय उत्पादनलाई स्वादिष्ट परिकारमा रूपान्तरण गर्ने व्यावहारिक सीप सिकाउनुभएको थियो। साथै, निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले बजार विस्तार र प्रवर्द्धनका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो।

दुई दर्जनभन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न उक्त तालिमले आमाछोदिङ्मोलाई रैथाने स्वादमार्फत चिनाउने दिशामा एउटा महत्वपूर्ण पाइला चालेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »