सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हिँड्ने शक्ति हराएकी आमालाई मानवताको साथ : सांसद पराजुलीले दिए नयाँ जीवनको भरोसा

सिन्धुपाल्चोक । विनाशकारी भूकम्पपछि जीवनको सबैभन्दा कठिन मोडमा पुगेकी चौतारा साँगाचोकगढी नगरपालिका–१० की बुद्धकुमारी कार्कीका लागि एउटा ह्विलचियर केवल सहारा मात्र बनेन, त्यो उनको पीडामाथि मानवियताले दिएको आशाको उज्यालो किरण बन्यो ।

भूकम्पको पीडादायी प्रभावपछि अचानक दुवै खुट्टा नचल्ने अवस्थामा पुगेकी बुद्धकुमारी लामो समयदेखि ओछ्यान र अरूको सहारामा जीवन बिताउन बाध्य थिइन् । आर्थिक अवस्था कमजोर, उपचारको पहुँच टाढा र दैनिक जीवन कष्टकर बन्दै जाँदा उनी निराशाको अन्धकारमा हराउँदै गएकी थिइन् ।

यही पीडाको खबर पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद भरतप्रसाद पराजुली स्वयं सक्रिय भएर बुद्धकुमारीको घरमै पुगेर ह्विलचियर सहयोग गरेका हुन् । सांसद पराजुलीले ह्विलचियर हस्तान्तरण गर्दै “राजनीति केवल भाषण गर्ने माध्यम होइन, पीडामा परेकाहरूको जीवनमा सानो भए पनि सहजता ल्याउने जिम्मेवारी पनि हो” भन्दै मानवीय सेवाको उदाहरण प्रस्तुत गरे ।

ह्विलचियर पाएपछि बुद्धकुमारीको आँखाबाट आँसु झरेको दृश्य त्यहाँ उपस्थित स्थानीयवासीलाई समेत भावुक बनायो । लामो समयदेखि अरूको सहारामा मात्रै चल्न बाध्य उनी अब केही हदसम्म आफ्नै प्रयासमा घरआँगनसम्म पुग्न सक्ने भएकी छन् ।

स्थानीयहरूले सांसद पराजुलीको यो सहयोगलाई “राजनीतिभन्दा माथिको मानवता” भन्दै प्रशंसा गरेका छन् । उनीहरूले भूकम्पपछिका वर्षहरूमा धेरै पीडितहरू अझै पनि आधारभूत सहायताको प्रतीक्षामा रहेको उल्लेख गर्दै यस्ता मानवीय अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

सामाजिक संवेदनशीलता घट्दै गएको वर्तमान समयमा एउटा ह्विलचियरले केवल शरीरलाई मात्र होइन, निराश बनेको मनलाई समेत अघि बढ्ने साहस दिएको स्थानीयहरूको भनाइ छ ।

भूकम्पले घर, सपना र स्वास्थ्य गुमाएकी बुद्धकुमारी कार्कीका लागि यो सहयोग जीवनमा फेरि एकपटक आशा पलाएको अनुभूति बनेको छ । गाउँका धेरै वृद्धवृद्धा र महिलाहरूले “दुखमा साथ दिने नै साँचो नेता हो” भन्दै सांसद पराजुलीप्रति आभार व्यक्त गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »