सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चारैतिरबाट लखेटिने दुष्चक्रमा फसेका भुटानी नागरिक

काठमाडौं । एउटा देशले जबर्जस्ती लखेट्ने अनि अर्को देशले फेरि लखेटिएकै देशतिर फिर्ता पठाइदिने। केही गरी तेस्रो देश पुग्न सफल भइहाले त्यहाँ कि पक्राउ पर्ने कि फेरि लखेटिने। 

पछिल्लो वर्ष दिनयता पाँच दर्जनभन्दा बढी भुटानी नागरिकले भोगेको  दुर्दान्त चक्र हो यो। यही चक्रको पछिल्लो शिकार बनेका छन्, हस्तबहादुर राई र चतुरमान तामाङ। 

१८ वर्षभन्दा बढी समय भुटानको जेलमा थुनिएर सोमबार रिहा भएका उनीहरूलाई भुटानले भारततिर पठाइदिएको थियो।  

मंगलबार नेपाल प्रवेश गर्न भारतीय नाका पानीट्यांकी आइपुगेका उनीहरूसँग सीमामा खटिएका भारतीय सुरक्षाकर्मीले परिचयपत्र खोजे। 

शरीरमा लगाएको एकसरो कपडा बाहेक साथमा केही नभएका उनीहरूले परिचयपत्र देखाउन सकेनन्। अन्ततः उनीहरू पानीट्यांकी नाकाबाटै उनीहरू फेरि ‘बेपत्ता’ बन्न बाध्य भए। भुटानको छाम्गाङस्थित सेन्ट्रल जेलबाट रिहा हुँदै गर्दा उनीहरूलाई फेरि भुटान आए यसरी नै सधैंका लागि थुनिदिने चेतावनी दिइएको थियो। 

कुनैबेला झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेका उनीहरू लामो जेल जीवनबाट छुटकारा पाएपछि पहिलेकै थातथलो शिविर फर्कने ध्येयसहित पानीट्यांकी नाका आइपुगेका थिए। यद्यपि उनीहरूका परिवारका सदस्यहरू भने पुनर्वास कार्यक्रममार्फत अस्ट्रेलिया र अमेरिका पुगिसकेका छन्।  

‘आफन्त जति सबै तेस्रो देश पुनर्वास भइसके पनि पुराना चिनजानका मान्छेहरू छन्, जाने ठाउँ अरू कहीँ नभए पनि शिविर नै जाने भनेर उहाँहरू यता आउँदै हुनुहुन्थ्यो,’ झापामा रहेका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले सेतोपाटीसँग भने, ‘तर, साथमा परिचयपत्र केही नभएपछि भारतीय सुरक्षाकर्मीले उहाँहरूलाई नेपालतिर प्रवेश गर्न दिएनछन्। त्यसपछि भुटानै जाने भनेर उहाँहरू फर्कनुभएछ।’

नेपाल पस्ने अनुमति पाइएला भन्ने आशामा मंगलबार साँझसम्म पानीट्यांकी नाकामा कुरेका उनीहरूलाई भारतीय पक्षले अनुमति नदिएपछि ‘मरे मरियोस्’ भन्दै भुटान नै फर्किएको आफूले सुनेको अध्यक्ष पौड्यालले बताए।

‘अहिले उहाँहरू फेरि बेपत्ता बनेको अवस्थामा हुनुहुन्छ,’ उनले भने ‘साथमा फोन छैन, भारतमा आफन्त र चिनजानका पनि कोही छैनन्। कता जानुभयो होला, के भयो होला केही अत्तोपत्तो छैन।’ 

हस्तबहादुर र चतुरमानलाई चिन्ने बेलडाँगी शिविरका दिल भुटानीका अनुसार उनीहरू दुवै जना अरू १२–१५ जना सहित सन् २००८ मा भुटानतिर गएका थिए। नेपालको शरणार्थी शिविरको सीमितताभित्र लामो समयदेखि रहँदा बस्दा अनिश्चयको भयले त्रस्त बनेका उनीहरू शरणार्थीहरूको स्वदेश फिर्ती अभियानका लागि दबाब दिन भनेर भुटान गएका थिए। 

भुटान पुग्नासाथ त्यहाँको सुरक्षाकर्मीबाट समातिएका उनीहरूलाई सिधै जेल चलान गरिएको थियो। जन्मथलोबाट लेखटिँदा ७–८ वर्षका मात्रै रहेका उनीहरूले जीवनका बहुमूल्य १८ वर्ष जेलमै कोचिन बाध्य हुनुपरेको थियो।

‘दोष भनेको शिविर छाडेर भुटान पुग्नु मात्रै थियो,’ भुटान पिपुल्स पार्टीका अध्यक्ष पौड्यालले थपे ‘जम्माजम्मी त्यही अभियोगमा १८ वर्षभन्दा बढी समय उहाँहरू जेलमा बन्दी बन्नुभयो। राजबन्दी रिहा गर्न भनेर अनेकौं अनुनय गर्दा पनि पार लागेन। यसपटक छुटेका दुई जनालाई खर्चपानी दिएर, फेरि भुटान आए पक्रिने चेतावनी दिएर जयगाउँ हुँदै पानीट्यांकी पठाइएछ। अहिले फेरि उहाँहरू कता जानुभयो केही खबर पाउन सकिएको छैन।’

बेलडाँगीमा रहेर लेखनकर्मसमेत गरिरहेका दिल भुटानीका अनुसार अझै एक दर्जनभन्दा बढी राजबन्दी भुटानी जेलमै छन्। 

भुटानले भारततिर लखेट्ने अनि भारतले आफ्नो भूमिमा बस्नै नदिने समस्या भुटानी नागरिकले सन् ९० को दशकको सुरूआतदेखि नै भोग्दै आएका हुन्। त्यसबेला भाषा, वर्ण, संस्कृति सबै मिल्ने नेपालले उनीहरूलाई शरण दिएको थियो। झापा र मोरङका ७ वटा शरणार्थी शिविरमा भुटानी शरणार्थीहरू राखिएका थिए। 

यो क्रममा गत वर्षदेखि भने ‘ब्रेक’ लाग्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासीहरूप्रति कठोर नीति अघि सारेपछि भुटानी नागरिकलाई नेपालले पनि रोक्न थालेको छ। वर्ष दिनयता अमेरिकाले कम्तीमा ६० जना भुटानी नागरिकलाई डिपोर्ट गरेर भुटानलाई जिम्मा लगाइदिएको छ। 

अमेरिकाबाट आफ्नै नागरिक हुन् भनेर जिम्मा लिएको भुटानले भने लगत्तै उनीहरूको साथमा भएको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर ‘नेपाल जानु’ भन्दै त्यहाँबाट लखेटेको छ। यसरी लखेटिएर नेपाल आइपुगेका शरणार्थीलाई नेपालले पनि थुनेको थियो। 

पछि सर्वोच्च अदालतले स्थानहद तोकेर राख्न भन्दै थुनामुक्त गरेका उनीहरूलाई नेपालले पनि डिपोर्ट गर्ने निर्णय गरिसकेको छ। यद्यपि कुनै कागजात नभएका कारण चार जना शरणार्थी युवा अहिले पनि बेलडाँगी शिविरमा अवैध रूपमा बस्न बाध्य छन्। नेपाली प्रशासनले नदेखे जस्तो गरिदिएका उनीहरूको टाउकोमा नेपालले तोकिदिएको जरिवानाको भार लगातार बढिरहेको छ। 

उनीहरू जसरी नै नेपाल आउन पाइने आशमा रहेका चतुरमान र हस्त बहादुरलाई भने भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेश गर्न नै दिएनन्। पछिल्लो समय भारतीय नाकामा आउजाउ गर्नलाई व्यक्तिगत विवरण खुल्ने सरकारी परिचयपत्र अनिवार्य गरिएको छ। 

यसरी देशविहीन बनाइएका व्यक्तिहरूलाई सबैले लखेटेर मानव अधिकारको न्यूनतम मर्यादा पनि भुलिएको भन्दै भुटानी नेता पौड्यालले चिन्ता प्रकट गरेका छन्।

‘भुटानले कि जेल हाल्छ कि लखेट्छ, भारतले बस्न पनि दिँदैन, नेपाल आउन पनि दिँदैन, कथम नेपाल आइहाले यता पनि पक्राउ गरिन्छ,’ उनले भने, ‘यो के गरेको हो? के मान्छेका लागि उभिने र ओत लाग्ने ठाउँ पनि यो संसारबाट हराएको हो?’ 

नेपालमा भुटानी शरणार्थीहरूको प्रवेश सन् १९९१ बाट सुरू भएको थियो।  

सन् १९९० मा भुटानमा राजनीतिक आन्दोलन चर्किएपछि सन् १९९० को अन्त्यतिरबाटै मानिसहरू लखेटिन थालेका थिए। सुरूमा भुटानीहरू भारतमा बसेका थिए।  

भारत सरकारले उनीहरूलाई गाडीमा हालेर नेपालको सीमामा ल्याएर छाडिदिएपछि बाध्य भएर नेपाल प्रवेश गर्नु परेको थियो।

सन् १९९२ बाट नेपालमा विधिवत् रूपमा शरणार्थी शिविरहरूको स्थापना हुन थालेको थियो। सन् २००९ पछि संयुक्त राष्ट्रसंघको अगुवाइमा शरणार्थीहरुलाई तेस्रो देश पुनःस्थापना सुरू भएको थियो। त्यसक्रममा अमेरिका, अष्ट्रेलिया, युरोप र न्युजिल्याण्डमा शरणार्थीहरू पुगेका छन्। 

भुटानी जेलबाट छुटेर फेरि बेपत्ता बनेका हस्तबहादुर र चतुरमान  भुटानबाट पहिलोपटक खेदिएका मानिस होइनन्।  उनीहरू सन् १९९१–९२ तिरै शरणार्थीका रूपमा नेपाल आएर आफ्ना आमाबुबासँगै शिविरमा बसेका थिए। पछि सन् २००८ तिर भुटान पुग्दा समातिएका उनीहरु दोस्रोपटक भुटानबाट लखेटिएका हुन्। 

जेलबाट छोड्दा भुटान सरकारले उनीहरूलाई भुटानी नागरिक भएको कुनै पनि आधिकारिक प्रमाण वा कागजात नदिएको नेपालमा रहेका शरणार्थीहरू बताउँछन्।  

यसअघि अमेरिकाबाट डिपोर्ट भएकाहरूमध्ये ६० जना  ‘डिपोर्टेड’ भुटानीहरू वैधानिक रूपमा आउन नपाएपछि कोही दलालहरू प्रयोग गरेर, लुकिछिपी अवैध रूपमा नेपाल छिरेका छन् भने कतिपय अझै भारततिरै अलपत्र अवस्थामा रहेको शरणार्थीहरू बताउँछन्।

भर्खरै

सम्बन्धित खबर

Language »