राष्ट्रिय परीक्षा बोर्डले जाँच सकिएको एक महिनाभित्रै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा लापरबाही भएको भन्दै बिहीबार केही विद्यार्थीले काठमाडौंको माइतीघरमा प्रदर्शन गरे।
बोर्डले एक साताअघि असार ५ गते कक्षा १२ को नतिजा सार्वजनिक गरेको थियो। एक महिनाभित्रै नतिजा निकाल्ने हतारमा राम्ररी कापी जाँच नभएको आशंका गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले जाँच राम्रो भए पनि अपेक्षा अनुसार ग्रेड नआएको गुनासो गरेका छन्।
छिटो नतिजा प्रकाशन गर्ने नाममा मूल्यांकन प्रक्रियामै लापरबाही गरिएको हुन सक्ने विद्यार्थी रञ्जित कार्कीको भनाइ छ।
जाँचमा आफूले राम्ररी जबाफ लेखेको दाबी गर्दै उनले त्यस अनुसार ग्रेड नआएकाले ‘रिटोटलिङ’ मात्र गरेर नपुग्ने, उत्तरपुस्तिका नै पुन: जाँच गरिनुपर्ने माग गरेका छन्।
‘हाम्रो उत्तरपुस्तिका रि–चेकिङ गरेपछि मात्र वास्तविकता बाहिर आउँछ,’ उनले भने, ‘मलाई आफूले लेखेको जबाफमा पूरा भरोसा छ। विद्यार्थीहरूको गल्ती होइन। त्यसैले रि-चेकिङको शुल्क लिन पाइँदैन।’
राष्ट्रिय परीक्षा बोर्डले रि-टोटलिङ गर्न १ हजार र उत्तरपुस्तिक पुन: जाँच गर्न १५ सय रूपैयाँ शुल्क लिन्छ। अहिले उत्तरपुस्तिका पुन: जाँच गर्नुपर्ने बाध्यता बोर्डले नै सिर्जना गराएकाले शुल्क छुट दिनुपर्ने उनी बताउँछन्।
एक महिनामै रिजल्ट निकाल्ने नाममा विद्यार्थीहरूको भविष्यसँग हेलचेक्र्याइँ गर्न पाइँदैन भन्दै प्रदर्शनमा सहभागीहरूले रिजल्ट निकाल्न कुन मापदण्ड प्रयोग गरिएको हो भन्ने प्रश्न पनि गरेका छन्।
माइतीघर प्रदर्शनमा सहभागी हुन आएका विद्यार्थीहरू धेरै जाँचमा पास भएका नै छन्। तर उनीहरू आफूले पाएको ग्रेडसँग सन्तुष्ट छैनन्। त्यही भएर उत्तरपुस्तिका फेरि जाँच गर्नुपर्ने उनीहरूको माग छ।
‘अधिकांश विद्यार्थीलाई पास भए पनि ग्रेड चित्त बुझेको छैन। आफूले जस्तो जाँच दिएर आएको हो, त्यस अनुसार रिजल्ट किन आएन भनेर हामीले सरकारलाई प्रश्न सोधेका हौं। सरकारले यसको जबाफ दिनुपर्छ,’ स्मृति खतिवडाले भनिन्, ‘हाम्रो माग रि-टोटलिङ होइन, कापी रि–चेकिङ नै हो। रि-चेकिङले मात्र वास्तविकता बाहिर आउँछ।’
बोर्डको गल्तीमा विद्यार्थीलाई नै दोषी देखाएर शुल्क असुल्ने प्रवृत्तिको पनि उनले विरोध गरिन्।
माइतीघर मण्डलमा प्रदर्शन गरेका विद्यार्थीले ‘हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाऊँ?’, ‘अनफेयर रिजल्ट’ लगायत नारा लेखिएका प्लाकार्ड बोकेका थिए।
विद्यार्थीहरूका यी गुनासाबारे हामीले राष्ट्रिय परीक्षा बोर्डका सहसचिव तथा प्रवक्ता जयन्ती सत्यालसँग कुरा गरेका छौं।
उनले ‘विद्यार्थीहरूलाई आफ्नो नतिजामा चित्त नबुझे सम्बन्धित निकायमा आउने हो, माइतीघर मण्डलमा जाने होइन’ भन्ने प्रतिक्रिया दिइन्।
‘बोर्डमा आएर आफ्नो समस्या राखे रि-टोटलिङ र उत्तरपुस्तिका रि-चेकिङ दुवैको सुविधा पाइन्छ। माइतीघरमा गएर के हुन्छ?’ उनले भनिन्, ‘यहाँ आउने विद्यार्थीहरूको समस्या हामीले समधान गरिरहेकै छौं।’
कक्षा १२ कै रिजल्टबारे गुनासो लिएर आएका कतिपय विद्यार्थी आफ्नो समस्याको समाधान लिएर फर्किसकेको उनले बताइन्।
विद्यार्थीहरूले भनेजस्तो एक महिनामा नतिजा सार्वजनिक गर्ने क्रममा कुनै किसिमको लापरबाही नभएको दाबी गर्दै सत्यालले भनिन्, ‘गत वर्षहरूमा झैं अनुभवी र विषय शिक्षकहरूले नै उत्तर पुस्तिका जाँच गरेका हुन्। गत वर्षको तुलनामा यसपालि केही जनशक्ति र परीक्षण केन्द्रहरू थप गरेर हामीले दिनरात नभनी काम गरेका थियौं।’
बोर्डले विद्यार्थीको भविष्यलाई लिएर कहिले पनि कुनै सम्झौता नगर्ने उनको भनाइ छ।
यसबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा प्रक्रियाबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
‘यस प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौं। नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरू आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
‘यस विषयमा शान्तिपूर्ण रूपमा आफ्नो धारणा राख्दै गरिएको आन्दोलनप्रति हामी सम्मान व्यक्त गर्दछौं। लोकतान्त्रिक समाजमा आफ्ना आवाज उठाउने अधिकारको सम्मान गरिनुपर्छ,’ उनले अगाडि लेखेका छन्, ‘यस विषयसँग सम्बन्धित केही समाचार तथा सामाजिक सञ्जालका प्रतिक्रियाहरू हेर्दा, विद्यार्थीहरूप्रति गरिएका केही नकारात्मक तथा असम्मानजनक टिप्पणीहरूले मेरो ध्यानाकर्षण भएको छ। शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति सामाजिक सञ्जालमा दुर्व्यवहार, गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु।
मन्त्री पोखरेलले शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तरपुस्तिकाको नमूना परीक्षण तथा परीक्षांक तथा डेटा इन्ट्रीको प्रमाणीकरण गर्न समिति गठन गरिएको जानकारी पनि दिएका छन्।








