– माधव घिमिरे ‘अटल’
पर्यटनलाई गाउँसँग जोडेमा मात्र यसको दिगो उत्थान हुनसक्छ भन्ने वस्तुनिष्ठ मान्यतालाई शिरोधार्य गर्दै गाउँ पर्यटन प्रवर्धन मञ्च नेपाल(भिटोफ नेपाल)ले ग्रामीण पर्यटन प्रवर्धन अभियानलाई आक्रामक रूपमा अघि बढाएको छ ।
यसै सिलसिलामा पूर्वको बेलबारी नगरपालिका–१० स्थित मटिगाउँमा रहेको धिमाल सामुदायिक होमस्टे तथा जीवित सङ्ग्रहालयमा कार्यक्रम सम्पन्न गरेको केवल हप्तादिनभित्रको अन्तरालमै सिन्धुपाल्चोकमा उस्तै प्रकृतिको अर्को कार्यक्रम तय भएको भिटोफका अध्यक्ष हरिशरण थपलियाले अवगत गराए ।
उक्त कार्यक्रमको नेतृत्व पनि स्वयम् अध्यक्ष थपलियाले नै गर्ने भिटोफका प्रथम उपाध्यक्ष मनहरी दाहालले बताए । कार्यक्रममा थपलिया र दाहालसँगै द्वितीय उपाध्यक्ष विनोद वस्ती, महासचिव अजिब भट्ट, सचिव सुरेन्द्र भट्ट, कोषाध्यक्ष इन्दिरा रिमाल न्यौपाने, सह–कोषाध्यक्ष नारायण सोडारी तथा सदस्यहरू सुनिता अधिकारी न्यौपाने, प्रदीपकुमार तामाङ र माधव ढुङ्गानासमेत समावेश हुने द्वितीय उपाध्यक्ष वस्तीले खुलासा गरे ।
महासचिव अजिब भट्टका अनुसार टोलीमा प्रमुख सल्लाहकार तथा पर्यटनविज्ञ डा. आलोक प्रसाई, पूर्व प्रमुख सल्लाहकार डा. प्रेम शर्मा, अर्का सल्लाहकार तथा पर्यटनविज्ञ डा. बीपी बडाल, पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेल, भिटोफका पूर्व अध्यक्ष शिव लामिछाने लगायत सञ्चारकर्मी सहित दुई दर्जन पर्यटन सम्बद्ध व्यक्तित्व सहभागी हुनेछन् । टोलीले खासगरी सिन्धुपाल्चोकमा सञ्चालित उखुबारी सामुदायिक होम स्टेको प्रवर्धनका उपायहरूबारे सामूहिक मन्थन र विमर्श गर्ने भट्टले सञ्चारकर्मीहरूलाई अवगत गराए ।
तीनदिने सो प्रवर्धनात्मक कार्यक्रमले सिन्धुपाल्चोकमा रहेका तर २०७२ सालको महाभूकम्प पश्चात ओझेलमा परेका तातोपानी लगायतका स्थानको प्रचारप्रसारमा समेत महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।








