काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले २०८० वैशाखमा निर्वाचनबाट प्रतिनिधि सभा सदस्य बनेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन-२ मा ‘ब्लु बस’ सञ्चालनमा ल्याएका थिए।
उनले महिलाहरू मात्र निःशुल्क रूपमा यात्रा गर्न पाउने गरी आफ्नै खर्चमा निलो रङको बस चलाएका थिए।
रास्वपा सभापति लामिछानेले बस भाडामा लिएर सञ्चालन गरे पनि उनको क्षेत्रमा ती बसहरू करिब ५ महिना मात्र चलेका थिए।
चितवनमा चलाइएका बसको रङ र बसमा लेखिएका अक्षरको रङ ठ्याक्कै रास्वपाको झण्डासँग मिल्छ।
अहिले नागरिकको करको पैसामा त्यस्तै निलो बस (ब्लु बस) काठमाडौं उपत्यकामा पनि सञ्चालन गर्ने तयारी सरकारले गरेपछि यसमाथि टीकाटिप्पणी हुन थालेको छ।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले साझा यातायातका ८ बसलाई निलो रङ लगाएर ‘ब्लु बस’ भन्दै सञ्चालन गर्न खोज्नु परिणामका लागि भन्दा पनि प्रचारका लागि भएको टिप्पणी गरेका छन्।
सरकार प्रचारमुखी काममा लागेको उनले बताए।
हरेक क्षेत्र दलीयकरण भएको भनेर आवाज उठाउने रास्वपा स्वयम अहिले बसमा समेत दलीयकरण गर्न लागेको महामन्त्री पौडेलको भनाइ छ।
‘साझाका बसको रङ परिवर्तन गरेर प्रचारमुखी काम गर्नेतिर सरकार लाग्यो। अति राजनीतिकरण भयो, अति दलीयकरण भयो भनेर रास्वपाले विगतमा आवाज उठायो,’ पौडेलले भने, ‘अहिले उसैले सार्वजनिक बसमा समेत दलीयकरण गर्न थाल्यो।’
पार्टी सभापतिको निर्वाचन क्षेत्रमा प्रयोग गरिसकेको ‘असफल’ योजनालाई सरकारले अपनत्व लिँदै सातै प्रदेशमा विस्तार गर्दा यसले भविष्यमा रास्वपालाई नै समस्यामा पार्ने पौडेलले बताए।
‘सरकारका यस्ता निर्णयले उहाँहरूलाई नै समस्या ल्याउँदै जान्छ, निर्वाचनमा प्राप्त जनमत पनि क्रमशः घट्दै जान्छ र असन्तुष्टि बढेर जान्छ,’ उनले भने, ‘जनविश्वासलाई बचाउनुस् भनेर हामीले रास्वपा र सरकारलाई भन्ने हो। राम्रो काममा हामी समर्थन गर्छौं भनेका छौं तर हिजो दलीयकरण भयो भनेर विरोध गर्ने, आज बसको रङ फेरेर बसमा पनि दलीयकरण गर्ने र दलीयकरणका क्षेत्र विस्तार गर्न त सुहाएन नि!’
यस्तै मत छ नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईको पनि।
उपमहासचिव भट्टराईले बसको रङभन्दा पनि सरकारले सार्वजनिक यातायात र सडक गुणस्तरको परिवर्तनमा जोड दिनुपर्ने बताएका छन्।
‘रङ निलो, रातो, सेतो होस् या कालो, खैरो, हरियो, यो केवल रूपमा परिवर्तन मात्र हो,’ सरकारले ब्लु बस सञ्चालन गर्न लागेकोप्रति लक्ष्य गर्दै भट्टराईले भने, ‘खाँचो त सार्वजनिक यातायात, सडक सेवा, व्यवस्थापन तथा गुणस्तरमा परिवर्तनको हो। जसले वर्षमा ३ हजारभन्दा बढी नागरिकलाई सडक दुर्घटनाबाट हुने मृत्युबाट जोगाउन सकोस्, हजारौंलाई घाइते हुनबाट जोगाउन सकोस्। मानवीय र भौतिक क्षतिबाट मुलुकको अर्थतन्त्रलाई जोगाउन सकोस्।’
एमालेकै प्रचार विभाग प्रमुख निरज आचार्यले साझा यातायातका बसलाई निलो रङ लगाएर सरकारको काम र उपलब्धिमा राख्न खोज्नु हास्यास्पद भएको प्रतिक्रिया दिए।
‘रूटमा चलिरहेका साझा यातायातका हरियो बसलाई निलो रङ दलेर ‘ब्लु बस’ चलाइयो भन्दै सरकारको उपलब्धिमा राख्नु त हास्यास्पद नौटङ्की हो,’ उनले भने, ‘यो धेरै टिप्पणी गर्न लायक विषय पनि होइन, यसको औचित्य पनि छैन।’
नेपाली कम्युनिस्ट पार्टीका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले साझा यातायातका बसको रङ फेरेर ब्लु बसका नाममा सञ्चालनको प्रयास भइरहेको बताए।
‘२०७३/७४ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका साझा यातायातका ३० वटा नयाँ बस आजसम्म नियमित सेवामा छन्। अहिले तिनै बसको रङ मात्र फेरेर ‘ब्लु बस’ का नाममा नयाँ उपलब्धि देखाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘अब सरकारका १०० दिनका १०० काममध्ये यसैलाई पनि एउटा उपलब्धि भनेर प्रचार गर्न मात्रै बाँकी रह्यो।’
बालेन शाहको नेतृत्वमा अहिले रास्वपाको एकल सरकार छ।
गत चैत १३ गते मन्त्रिपरिषद् बैठकबाट शासकीय सुधारका १०० कार्यसूची स्वीकृत गर्दा ९७ औं नम्बरमा ब्लु बससम्बन्धी योजना पनि समावेश थियो।
बालेन सरकार गठन भएको भोलि शनिबार १०० दिन पुग्दैछ।
१०० दिनभित्र गर्ने भनिएको कामअन्तर्गत ब्लु बस सञ्चालन पनि एक थियो।
त्यसैले अहिले साझा यातायातका ८ वटा बसको रङ परिवर्तन गरी ‘ब्लु बस’ बनाएर चलाउने गृहकार्यमा सरकार जुटेको छ।
साझा यातायातमा काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न स्थानीय तहहरूसँगै नेपाल सरकारको पनि सेयर छ।
साझा यातायातका बस हरियो रङका छन्। ती बसहरूमध्ये ८ वटाको रङ परिवर्तन गरी निलो बनाउन लागिएको हो।
महिलाहरूले मात्र चढ्न मिल्ने र भाडा नतिरी निःशुल्क रूपमा यात्रा गर्न मिल्ने ८ वटा त्यस्ता बस साउन १ गतेदेखि काठमाडौँ उपत्यकामा सञ्चालन गर्ने तयारी भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले बताएका छन्।
ती बसको खर्च नेपाल सरकारले ब्यहोर्नेछ। यसका लागि वार्षिक ३ करोड सरकारी खर्च लाग्ने अनुमान छ। यही योजनालाई अहिले दलीयकरण गर्न खोजिएको भन्दै विभिन्न दलका नेताहरूले यसबारे आलोचना गरेका हुन्।








