काठमाडौँ, सम्यक् सन्देशको आयोजनामा आइतबार (असार २१) बिहान ८ बजे काठमाडौँको शान्तिनगरस्थित विश्व शान्ति विहारमा ‘बुद्ध वाणी’ पुस्तकको विमोचन तथा विभिन्न विधाका पुरस्कार समर्पण समारोह आयोजना हुने भएको छ। आयोजकका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।
समारोह सम्यक् सन्देशका संरक्षक केदारनाथ श्रेष्ठको सभापतित्व तथा विश्व शान्ति विहारका प्रमुख श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविरको प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ।
कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सम्यक् सन्देशका मानार्थ संरक्षक जलेश्वरी श्रेष्ठ, सम्यक् सन्देशका सल्लाहकार श्यामलाल चित्रकार, बौद्ध अध्येता एवं त्रिचन्द्र क्याम्पसका पूर्व सहप्राध्यापक मदनरत्न मानन्धर, तथा धर्मकीर्ति बौद्ध अध्ययन गोष्ठीकी सचिव एवं साहित्यकार लोचनतारा तुलाधरको विशेष उपस्थिति रहने सम्यक् सन्देशका अध्यक्ष दीपक भेटुवाल ‘दीपसागर’ले जानकारी दिएका छन्।
समारोहमा बौद्ध धर्म, साहित्य, शिक्षा तथा बाल प्रतिभाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मानस्वरूप विभिन्न पुरस्कार प्रदान गरिनेछ।
यसअन्तर्गत नानीमैयाँ मानन्धर र रत्नसुन्दर शाक्यलाई ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’, श्रद्धाचारी गुरुमां र तीर्थरत्न शाक्यलाई ‘केदारनाथ–लीलादेवी साहित्य तथा शिक्षा पुरस्कार’, तथा श्रामणेर सुदत्त र श्रामणेर धर्मबोधीलाई ‘सम्यक्–जलेश्वरी बौद्ध बाल प्रतिभा पुरस्कार’ प्रदान गरिने कार्यक्रम रहेको छ।
यसै अवसरमा बुद्धका उपदेश तथा शिक्षामा आधारित ‘बुद्ध वाणी’ पुस्तकको औपचारिक विमोचन पनि गरिनेछ। बौद्ध दर्शन, साहित्य र शिक्षाको प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त समारोहमा विभिन्न क्षेत्रका भिक्षुसंघ, साहित्यकार, शिक्षाविद्, बौद्ध अध्येता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।








