गोरखा। बारपाक-सुलिकोट गाउँपालिका, मुटु फाउन्डेसन नेपाल, मनोज एसोसिएसन फ्रान्स, नमस्ते प्रोजेक्ट इलेवन ग्रुप फ्रान्स र फ्रान्सको ग्रेनोबल विश्वविद्यालयमा अध्ययनरत चिकित्सा विद्यार्थीहरूद्वारा आयोजित र ओम समाज डेन्टल अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा गोरखाको बारपाक स्वास्थ्य चौकीमा सञ्चालन गरिएको दुई दिने निःशुल्क दन्त स्वास्थ्य शिविरबाट ३७७ जनाले विशेषज्ञ दन्त उपचार सेवा प्राप्त गरेका छन्।
शिविरको पहिलो दिन १७७ र दोस्रो दिन २०० जना सहित कुल ३७७ सेवा प्राप्तकर्ताहरूले दन्त जाँच, परामर्श, दाँत सफा गर्ने (स्केलिङ), दाँत भर्ने (फिलिङ), दाँत निकाल्ने र आवश्यक औषधिहरू निःशुल्क प्राप्त गरे। आयोजकका अनुसार १७१ जनालाई स्केलिङ, २३२ जनालाई दाँत निकाल्ने र १७१ जनालाई फिलिंग सेवा प्रदान गरिएको थियो। एक जना सेवा प्राप्तकर्ताले आफ्नो आवश्यकता अनुसार एकभन्दा बढी सेवा लिएकाले सेवाको संख्या लाभार्थीहरूभन्दा बढी रहेको बताइएको छ।
डा. हरिशंकर यादव, डा. सुदेसा अधिकारी, सहायक जुनु पण्डित, सहायक सिर्जना सुनुवार, र ओम समाज दन्त अस्पताल बोर्ड सदस्य तथा सामाजिक कार्यकर्ता-पत्रकार राजन थापा शिविरमा सक्रिय रूपमा संलग्न थिए। शिविर स्थानीय स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेवक र जनप्रतिनिधिहरूको सहयोगमा आयोजना गरिएको थियो।
शिविरलाई विशेष बनाउने कुरा फ्रान्सका चिकित्सा विद्यार्थीहरूको सक्रिय सहभागिता थियो। इभा डोन्जे-कारोडेले भनिन्, “म बारपाकका नागरिकहरूको सेवा गर्न पाउँदा धेरै खुसी छु।” गाया डोनेले भनिन्, “नेपाली स्वास्थ्यकर्मीहरूसँग काम गर्नु एउटा अविस्मरणीय अनुभव भएको छ।” लियोनोर गोरियासले भनिन्, “दुर्गम गाउँका नागरिकहरूको मुस्कान हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो।” रोबिन मौरीले जवाफ दिइन्, “स्वास्थ्य सेवा मानवताको सेवा हो, म यस अभियानको हिस्सा हुन पाउँदा गर्व गर्छु।” जो पिगल्टले भनिन्, “म यहाँका नागरिकहरूको आत्मीयता र प्रेमलाई सधैं सम्झनेछु।” जीन बोकेराजले भनिन्, “नेपालमा सेवा गर्ने अवसर मेरो लागि प्रेरणादायी अनुभव भएको छ।” उनले नेपाली नागरिकहरूप्रति आफ्नो स्नेह व्यक्त गर्दै भनिन्।
बारपाक-सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले यस्ता शिविरहरूले दुर्गम क्षेत्रका नागरिकहरूलाई विशेषज्ञ स्वास्थ्य सेवाहरू सजिलै उपलब्ध गराएको र आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्वास्थ्य शाखा प्रमुख मोदराज भट्ट र स्वास्थ्य चौकी प्रमुख केशव गिरीले ग्रामीण क्षेत्रमा दन्त स्वास्थ्य सेवाको आवश्यकता उच्च रहेको र शिविर प्रभावकारी भएको बताए।
मुटु फाउन्डेसन नेपालका अध्यक्ष धनबहादुर गुरुङले संस्थाको मुख्य उद्देश्य ग्रामीण नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच प्रदान गर्नु रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्ता मानवीय अभियानहरूलाई निरन्तरता दिइने जानकारी दिए।
शिविरले नेपाल र फ्रान्सबीचको मानवीय सहयोगलाई अझ बलियो बनाएको र दुर्गम गाउँका नागरिकहरूको अनुहारमा मुस्कान ल्याएको सहभागीहरूको विश्वास छ।








