काठमाडौं। कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारले नेपाली साहित्यको भविष्य संकटमा परेको हो कि नयाँ सम्भावनाको ढोका खुलेको हो? यही गम्भीर प्रश्नको उत्तर खोज्न बुधबार राजधानीमा देशका प्रतिष्ठित साहित्यकार, समालोचक, प्राध्यापक, पत्रकार र बुद्धिजीवीहरू एउटै मञ्चमा उभिए। ‘शब्दसरोवर डट कम’ को आयोजनामा ग्रिनलिफ फुडल्याण्डमा सम्पन्न विशेष प्राज्ञिक विमर्श कार्यक्रममा प्रविधि, एआई, पठन संस्कृति र नेपाली साहित्यको भविष्यबारे गहन बहस भएको हो। निर्माणको तयारीमा रहेको नयाँ पोडकास्ट शृङ्खला अघि बढाउनुअघि आयोजित उक्त पूर्व-विमर्शमा सहभागीहरूले साहित्यको मौलिकता, भाषा संरक्षण र डिजिटल युगका चुनौतीबारे खुला रूपमा आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै शब्दसरोवर डट कमका कार्यकारी सम्पादक जयराम बिडारी ले प्रविधिलाई अस्वीकार गरेर होइन, सिर्जनात्मक रूपमा उपयोग गरेर नेपाली साहित्यलाई विश्वव्यापी बनाउने लक्ष्यका साथ पोडकास्ट अभियान सुरु गर्न लागेको जानकारी दिनुभयो। उहाँले नयाँ पुस्तालाई साहित्यसँग जोड्ने प्रभावकारी माध्यमका रूपमा श्रव्य–दृश्य सामग्रीको भूमिका उल्लेख गर्नुभयो।
विमर्शका क्रममा प्राज्ञिक व्यक्तित्वहरूले एआईको प्रभावबारे फरक–फरक दृष्टिकोण प्रस्तुत गरे। डा. रामप्रसाद ज्ञवाली ले पुराना स्रष्टाहरूले भाषा जोगाउन खेलेको भूमिकाको स्मरण गर्दै अहिलेका लेखकहरूमा व्यक्तिकेन्द्रित प्रवृत्ति बढ्दै गएको टिप्पणी गर्नुभयो। उहाँले साहित्यलाई दीर्घकालीन बनाउन गहन अध्ययन र मौलिक सिर्जनाको आवश्यकता औँल्याउँदै छापा माध्यमले दिने आत्मीय अनुभूति डिजिटल माध्यमले पूर्ण रूपमा दिन नसक्ने धारणा राख्नुभयो। डा. रमेश शुभेच्छु ले अनलाइन सामग्री चोरी हुने जोखिम, निरन्तरताको अभाव तथा गुणस्तरीय अतिथि व्यवस्थापन डिजिटल माध्यमका प्रमुख चुनौती भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार क्षणिक रूपमा भाइरल हुने सामग्री धेरै भए पनि दीर्घकालीन प्रभाव पार्ने बौद्धिक सामग्री उत्पादन गर्न सजिलो छैन। मुकुन्द सिलवाल ले एआईले केही क्षणमै साहित्य सिर्जना गर्न सक्ने अवस्थाले मौलिक सर्जनशीलतामाथि गम्भीर प्रश्न उठाएको बताउनुभयो। अमर कृतिमानी ले प्रविधिले विषयवस्तुलाई अतिरञ्जित बनाउने प्रवृत्ति बढ्दै जाँदा मानवीय संवेदना कमजोर बन्न सक्ने चेतावनी दिनुभयो।
कमला घिमिरे ले प्रविधिलाई सहज रूपमा आत्मसात् गर्नुपर्ने धारणा राख्नुभयो भने डा. छायादत्त न्यौपाने ले डिजिटल युगमा भाषा र मौलिकता जोगाउन शब्द, अर्थ र विषयवस्तुको स्पष्टतामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। दृश्य–श्रव्य सामग्री र पठन संस्कृतिको सम्बन्धबारे चर्चा गर्दै डा. हरिप्रसाद सिलवाल ले पोडकास्ट सञ्चालन केवल प्रविधिको विषय नभई कानुनी परामर्श, स्रोतको आधिकारिकता र तथ्यको विश्वसनीयतासँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो। दर्शकका प्रश्न र प्रतिक्रियालाई आधार बनाएर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न सके पठन संस्कृतिलाई समेत बल पुग्ने उहाँको धारणा थियो। गंगाप्रसाद भेटवाल ले समाजमा लामा लेखभन्दा छोटा भिडियोको प्रभाव तीव्र बन्दै गएको उल्लेख गर्दै सामग्रीको गुणस्तर कायम राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताउनुभयो।
यस्तै डा. शैलेन्दु प्रकाश नेपाल ले छापा माध्यम दीर्घकालीन अभिलेख भए पनि समयअनुसार प्रविधिमा युवा पुस्तालाई जोड्नुपर्ने धारणा राख्नुभयो। डा. शेखरकुमार श्रेष्ठ ले ‘कृतिभित्र कृतिकार’ को अवधारणा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै पछिल्लो समय नाटक विधामा सिर्जना घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो। यम जोती ले डिजिटल युगसँगै साहित्य पनि स्मार्ट, समयानुकूल र कालजयी बन्नुपर्नेमा जोड दिनुभयो भने विजयध्वज थापा ले परिवर्तनलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने धारणा राख्नुभयो। साहित्यकार कृष्ण प्रसाईंले नवोदित स्रष्टालाई प्रोत्साहन गर्न आफू सदैव तयार रहेको प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी रुबि सत्याल, गंगा खतिवडा र माधव घिमिरे ‘अटल’ ले समयअनुकूल रूपान्तरण नगर्ने साहित्य पछि पर्ने चेतावनी दिँदै अवसर र चुनौती दुवैलाई सन्तुलित रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको समापन गर्दै माइण्ड प्लस तथा शब्दसरोवरका प्रबन्ध निर्देशक नवीन पल्लव ले विमर्शबाट प्राप्त सुझाव, आलोचना र मार्गदर्शनलाई संस्थाको भावी यात्राको आधार बनाइने बताउनुभयो। उहाँले शब्दसरोवर डट कमको आगामी पोडकास्ट शृङ्खलालाई अझ विश्वसनीय, बौद्धिक, अनुसन्धानमुखी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ—प्रविधि र एआईलाई रोक्न सम्भव छैन, तर नेपाली साहित्यको आत्मा, मौलिकता र भाषिक गरिमा जोगाउँदै डिजिटल युगसँग सहयात्रा गर्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो।








