सारा खबरकोलागि समिक्षा थापाको रिपोर्ट
चक्रपथ सफाइ महाअभियान काठमाडौँसार्वजनिक स्थानमा जथाभावी प्लास्टिक जन्य फोहोर फाल्ने र त्यसकै कारण वर्षायाममा पानीको निकास अवरुद्ध भएपछि सरकारलाई मात्रै दोष दिने प्रवृत्तिविरुद्ध चक्रपथ सफाइ महाअभियानले नागरिकलाई आफ्नो जिम्मेवारीप्रति सचेत गराएको छ।
वि.सं. २०७४ देखि निरन्तर सञ्चालन हुँदै आएको अभियानको ४९० औँ हप्ताका अवसरमा अभियानकर्मीहरूले काठमाडौँका सार्वजनिक स्थानमा थुपारिएका प्लास्टिकजन्य फोहोर, बर्खायाममा आउने झाडी हटाएर, अन्य प्लास्टिक फोहोर संकलन गरी व्यवस्थापन गरेका छन्।
कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने बानीले वातावरण प्रदूषणका साथै वर्षायाममा ढल र पानीको सहज निकासमा समेत ठूलो समस्या निम्त्याउछ, भन्दै नागरिकलाई आफ्ना घर, टोल र छिमेक सफा राख्न आग्रह गरिएको छ।
अभियानका निरन्तर अभियन्ता तथा संचरकर्मी डीबी पराजुलीका अनुसार सफाइ अभियान कुनै रहर वा औपचारिकता नभई देशलाई सुन्दर र व्यवस्थित बनाउने साझा नागरिक जिम्मेवारी हो। फोहोर व्यवस्थापनमा नागरिक स्वयं सचेत र जिम्मेवार नभएसम्म सरकार वा निकायलाई मात्रै गाली गरेर समस्याको दीर्घकालीन समाधान नहुने उनले बताए। यो अभियानमा हामी हरेक हप्ता रहरले उठेर आएका होइनौँ, देश सफा र सुन्दर भएको हेर्ने चाहनाले आएका हौँ, पराजुलीले भने,अभियान एउटा फोहोर टिपने माध्यम मात्रै होईन, यो देशलाई सफा सुन्दर बनाउने सन्देश पनि हो। सरसफाई सरकारको मात्रै जिम्मेवारी होइन, यो प्रत्येक नागरिकको चेतना र कर्तव्य पनि हो।
अभियानका क्रममा नागरिकलाई कानुन र कारबाहीबारे समेत सचेत गराइएको थियो। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने व्यक्तिको तस्वीर वा भिडियो खिचेर सम्बन्धित स्थानीय तह वा निकायमा बुझाउन सकिने र स्थानीय तहले कानुनअनुसार त्यस्ता व्यक्तिलाई जरिवाना तथा कारबाही गर्न सक्ने विषयमा अभियानकर्मीहरूले जानकारी गराएका छन्।
“फोहोर व्यवस्थापन सरकारलाई गाली गरेर मात्र सम्भव हुँदैन। आफ्नो घरको फोहोर आफैँ व्यवस्थापन गरौँ, सार्वजनिक ठाउँमा फोहोर नफालौँ र सफाइको सुरुवात आफैँबाट गरौँ” भन्ने मुख्य सन्देशका साथ महाअभियानको ४९०औँ हप्ताको कार्यक्रम सम्पन्न भएको छ।

