काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिँदै तारकेश्वर नगरपालिकाले २८ लाख ४१ हजार ३२६ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सेवा सुविधा र विपद् व्यवस्थापन कोषबाट रकम जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
नगर प्रमुखले विपद्को पीडा कुनै भूगोल वा सीमाभित्र मात्र सीमित नहुने भन्दै प्रभावित नागरिकको दुःखमा स्थानीय सरकारसँगै सम्पूर्ण समाज उभिनुपर्ने बताए। “आज उनीहरूको घरमा आएको विपत्ति भोलि हामीकहाँ पनि आउन सक्छ। यस्तो कठिन समयमा पीडितको आँसु पुछ्नु र सकेको सहयोग गर्नु हाम्रो मानवीय जिम्मेवारी हो,” नगर प्रमुखले भने।
उपप्रमुखले राहत रकमलाई सहयोगभन्दा पनि पीडित नागरिकप्रतिको मानवीय ऐक्यबद्धताका रूपमा लिनुपर्ने बताए। “विपद्ले घरबार र आफन्त गुमाएका परिवारको पीडा शब्दले व्यक्त गर्न सकिँदैन। उनीहरूको दुःखमा एक थोपा भए पनि मलम लगाउन सकियोस् भन्ने भावनाले नगरपालिकाले सहयोगको निर्णय गरेको हो,” उनले भनिन्।
सहयोगमा नगर प्रमुखको एक महिनाको सेवा सुविधा, उपप्रमुख तथा वडा अध्यक्षहरूको १५ दिन बराबरको सेवा सुविधा, नगरसभा सदस्य तथा कर्मचारीको सात दिन बराबरको सेवा सुविधा र विपद् व्यवस्थापन कोषको पाँच लाख रुपैयाँ समावेश छ।
विपद्को घडीमा गरिएको यो सहयोगले स्थानीय सरकारको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनालाई थप बलियो बनाएको नगरपालिकाले जनाएको छ।








