काठमाडौँ। विहिबार साँझ राजधानीको सीतापाइलामा युवतीमाथि एसिड आक्रमण गर्ने २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक भारतिय नागरिक पनि रहेको खुलेको छ ।
उनीहरुमा रौतहटको लक्ष्मीपुर घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मद रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बिहीबार राति ११ बजे प्रहरीले पक्राउ गरेको हो। उनीहरुले किन एसिड प्रहार गरे भन्नेमा भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
ओखलढुंगा स्थायी ठेगाना भएकी एक २२ वर्षीया युवतीमाथि बिहीबार साँझ करिव ८ बजे एसिड प्रहार भएको थियो ।
पीडित युवतीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।
मुलुकी अपराध संहितामा यस्तो कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ।
शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।