काठमाडौं । दुई दिन केही सफा भएको नेपालको मौसम पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार मौसम अधिकांश क्षेत्रमा सफा भए पनि मंगलवबारदेखि तीन दिन बदली हुनेछ ।
मौसमविद् समिर श्रेष्ठले अहिले मुलुकका विभिन्न क्षेत्रमा पानी परिरहेको जानकारी दिनुभयो ।
मनसुन न्यून चापीय रेखा नेपालको पूर्व र मध्य क्षेत्रको अलि नजिक आएकाले धेरैजसो स्थानमा मौसम बदली छ ।
श्रेष्ठका अनुसार प्रदेश १ र २ मा हल्का पानी परिरहेको छ। आज मौसम पश्चिमतिर पनि सर्ने क्रममा रहेकाले वाग्मती प्रदेशमा पनि बदली भएर ठाउँठाउँमा पानी परिरहेको छ ।
वाग्मती र गण्डकीसहित प्रदेश १, २ र ५ का केही स्थानमा मंगलवार र बुधबार भारी वर्षाको सम्भावना छ ।
पश्चिम सर्ने क्रममा बुधबार कर्णाली र सुदूरपश्चिममा पनि असर गर्ने श्रेष्ठले बताउनुभयो ।