सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बझाङ पहिरो अपडेट : दुई जनाको शव भेटियो, ७ जना बेपत्ता, मृतकहरुको सनाखत हुन बाँकि

बझाङ / २० असार
बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा शनिबार विहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । सात जना अझै बेपत्ता छन् । १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् । मृतकहरुको सनाखत भएको छैन ।

यद्यपि घटनास्थलमा प्रहरीको टोली अझैसम्म पनि पुग्न नसकेकाले क्षतिको एकिन विवरण आइसकेको छैन । गाउँलेहरुले नै पहिरोमा वेपत्ता भएकाहरुको खोजी गरिरहेको स्थानीय लोकेन्द्र विकले बताए ।

शनिवार विहान करिब २ बजेतिर पहिरो आएको स्थानीय बताउँछन् । पहिरोमा बेपत्ता भएको आशंका गरिएका २८ जना गाउँलेको सम्पर्कमा आएको घटनास्थलमा रहेका स्थानीय लोकेन्द्र विकले बताए । अहिले स्थानीयले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी गरिरहेको उनले जानकारी दिए । गाउँमा ४० परिवारको बसोबास रहेको छ ।

खोलैखोलाको बाटो हुँदै मल्लेसी जानुपर्ने र माथिबाट पहिरो खसिरहेका कारण उद्धार टोली त्यहाँ पुग्न नसकेको हो । पहिरोले त्यो गाउँ जाने बाटोसमेत बगाएकोले बाटो बनाएर घटनास्थल जाने प्रयास गरिरहेको डीएसपी गणेश बमले जानकारी दिएका छन् । यद्यपि त्यहाँ उद्धार टोली पुग्नका लागि अझै समय लाग्न सक्ने उनले बताए ।

घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको तर त्यहाँ हेलिकप्टर आवश्यक भए नभएको यकिन गरेपछि मात्रै उडानका लागि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »