धनगढी। सेती प्रादेशिक अस्पतालमा डायलसिसका क्रममा मृत्यु भएकी कैलालीकी ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि मलामी जानेको खोजी सुरु गरिएको छ ।
धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया महिलाको शुक्रबार राति डायलसिसका क्रममा मृत्यु भएको थियो । संक्रमण पुष्टि हुनुअघि नै ती महिलाको स्थानीय मोहना नदीमा दाहसंस्कार गरिएको थियो ।
शनिबार ती महिलामा कोरोना पुष्टि भएको हो । उनी शुक्रबार नै डायलसिस गराउन अस्पताल भर्ना भएकी थिइन् । अस्पताल प्रशासनका अनुसार मृतक महिलाको आरडीटी नेगिटिभ आएको थियो । यसअघि उनी नेपालगन्ज र काठमाडौंमा डायलसिस गराउँदै आएको खुलेको छ ।
उनको मृत्युपछिमात्रै स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । तर आरडीटी नेगेटिभ आएको भन्दै अस्पतालले परिवारका सदस्यहरूलाई मृतकको शव बुझायो । आफन्तलाई पर्खिएको परिवारले शनिबार मोहना घाटमा अन्त्येष्टि गरे । त्यसको केही घण्टामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
ती महिलामा संक्रमण पुष्टि भएपछि अस्पतालको उक्त वार्ड सिल गरिएको छ । जिल्ला जनस्वास्थय कार्यालयका निमित्त प्रमुख ललितबहादुर धामीले मलाली गएकाहरुको खोजी भइरहेको बताए । ‘दाहसंस्कारपछि कोरोना संक्रमणको रिपोर्ट आयो,’ उनले भने, ‘त्यति बेलासम्म दाहसंस्कार गरिसकेको रहेछ ।’
संक्रमित महिलाको अन्त्येष्टिमा परिवारका सदस्यसहित २०÷२२ जना सहभागी भएका थिए । प्रहरीले उनीहरूको खोजी थालेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी हिक्मत थापा भन्छन्, ‘केही मलामी सम्पर्कमा आएका छन्, केहीको खोजी भइरहेको छ ।’
उनले मलाली गएका सबैलाई सम्पर्कमा आउन सम्बन्धित वडाध्यक्ष र आफन्तलाई खबर गरिएको बताए । मलामी गएका सबैको स्वाब परीक्षण गरिने उनले बताए ।परिवारका सबै सदस्यलाई पानि क्वारेन्टाइनमा राख्न समन्वय भइरहेको बताइएको छ।