सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसिड प्रकरणः मुख जल्याे, सपना जलेकाे छैन

काठमाडौं। मुस्कान खातुनको दायाँ गाला जलेको छ। तर, उनको आत्मविश्वास भने अझै चम्किलो छ। सोमबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा आफ्ना कुरा राख्दै गर्दा १४ वर्षीया मुस्कानका गला अवरुद्ध भए। मुस्कानले एकैछिन रोकिएर भनिन्, ‘त्यो अपराधीले मेरो मुख जलाएको छ। तर सपना जलाउन सकेको छैन।’

गत भदौ २० गते मुस्कानमाथि वीरगन्जमा तेजाब प्रहार भएको थियो। तेजाबले अनुहार जलाए पनि जीवनमा केही गर्ने अठोट कायमै रहेको उनले बताइन्। ‘मेरो परिवार आर्थिक रूपले कमजोर छ। बाबाको काम चलिरहेको छैन। दिनमा चार पटक लगाउनुपर्ने औषधि एकपटक मात्र लगाउने गरेकी छु’, दुःख पोख्दै उनले भनिन्, ‘एसिडको पीडा मलाई भन्दा मेरो बुवा आमालाई बढी भइरहेको छ।’

अर्की तेजाब पीडित जेनी खड्काले केही गर्ने प्रयास गर्दागर्दै पनि समाजले स्वीकार नगरेको गुनासो गरिन्। जेनीलाई २०७६ जेठमा उनकै श्रीमानले एसिड प्रहार गरेका थिए। ‘अरूलाई बाहिरमा मानिसले एसिड हानेका हुन्, मलाई त मेरै पतिले एसिड हाने, बाटोमा छटपटिरहँदा पनि अस्पताल पुर्‍याउने कोही थिएन’, उनले समितिमा भनिन्, ‘अस्पताल पुग्दा उपचार गर्ने पैसा थिएन, डिस्चार्ज हुँदा अस्पताललाई बुझाउने पैसा नभएर, उपचारपछि पनि १५ दिन अस्पतालमै बस्नुपर्‍यो।’

आफूले जागिरको लागि प्रयास गर्दा पनि कसैले दिन नमानेको जेनीले गुनासो गरिन्। ‘भेट हुँदा त सबैले केही परे भन्नु भन्छन्। तर साँच्चिकै जब चाहियो भनेर जाँदा काम दिँदैनन्, सबैलाई सुन्दरता नै चाहिँदो रहेछ’, उनले भनिन्। पढ्न चाहनेलाई शिक्षा र काम गर्न चाहनेलाई सरकारले रोजगारी दिनुपर्ने उनले बताइन्।

त्यस्तै संगीता थापामगरले कानुन बलियो नबनाएसम्म तेजाब आक्रमणका घटना भइरहने बताइन्। संगीतामाथि ६ वर्षअघि बसन्तपुरमा तेजाब आक्रमण भएको थियो। ‘कानुन कमजोर भएका कारण एकपटक हानेपछि छुटिहाल्छु भन्ने देखिएको छ, त्यसैले कानुनलाई बलियो बनाउनुपर्छ’, उनले भनिन्, ‘जीवन त हाम्रो बर्बाद हुने। अपराध गरेर अपराधीहरू केही समयमै छुट्छन्।’

सजाय कडा बनाऊ

तेजाब आक्रमणकारीलाई दिने सजाय कडा बनाउन दुईवटा संसदीय समितिले सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभा अन्तर्गतका महिला तथा सामाजिक समिति र कानुन न्याय तथा मानवअधिकार समितिले सोमबार कानुन कडा बनाउन सरकारलाई निर्देशन दिएका हुन्।

सोमबार दुवै समितिले तेजाब आक्रमण रोकथामका विषयमा छलफल चलाएका थिए। अहिले तेजाब आक्रमणकारीलाई अधिकतम आठ वर्षसम्म मात्र सजाय तोक्ने कानुनी व्यवस्था छ। तेजाब आक्रमणका घटनाहरू योजनाबद्ध, प्रतिशोधपूर्ण एवं सुनियोजित हुने गरेका महिला समितिको निचोड छ। एसिड आक्रमणसम्बन्धी कानुनी व्यवस्था र दण्ड सजायलाई समयसापेक्ष परिमार्जन गर्न आवश्यक देखिएकाले सम्बन्धित विद्यमान कानुनमा आवश्यक संशोधन गर्ने कार्यलाई तत्काल अगाडि बढाउन समितिले नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन दिएको छ। साथै आवश्यक समन्वयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई पनि निर्देश गरिएको समितिको निर्देशनमा उल्लेख छ।

त्यस्तै महिला समितिले तेजाब पीडितलाई सीपमूलक तालिम उपलब्ध गराउन, सरकारी सेवाका रोजगारीमा प्राथमिकता दिन तथा यस्ता व्यक्तिहरूको जीविकोपार्जनलाई सहज बनाउन र सामाजिक पुनस्र्थापना सम्बन्धमा कार्यक्रम तुरुन्त तयार गरी कार्यान्वयन गर्न÷गराउनसमेत नेपाल सरकारलाई निर्देशन दिएको हो।

पीडामा अधिकांश महिला

नेपाल प्रहरीको तथ्यांकअनुसार अहिलेसम्म नेपालमा तेजाब आक्रमणका २० घटना देखिएका छन्। १७ वटा घटनाको पूर्ण विवरण प्रहरीसँग रहेको प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले जानकारी दिए।

कानुन न्याय तथा मानवअधिकार समितिको छलफलमा बोल्दै महानिरीक्षक क्षेत्रीले १७ मध्ये आठवटा घटना बदला लिने उद्देश्यले घटेको बताए। उनका अनुसार पाँचवटा तेजाब आक्रमणका घटना माया पिरतीका कारण र दुईवटा घटना मुख बिगार्ने उद्देश्यले भएका छन्।

जनचेतनाका लागि अाकाश क्षेत्रीले अन्नपुर्ण पत्रिकामा प्रकाशित समाचार साभार

भर्खरै

सम्बन्धित खबर

Language »