सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

खेलकुद क्षेत्रमा स्थानीय तहको उपेक्षा किन ?

बुटवल । मार्शल आर्टको कराते विधाका प्रशिक्षक उमेश थापाले सामाजिक संजाल (फेसबुक) मा गरिएको पोष्टले धेरै चर्चा पायो ।

”खेलकुद मन्त्रालय सबै भन्दा कमजोर पार्टी वा कम्जोर व्यक्तिलाई दिइन्छ । नामको मात्र मन्त्री । न उसले खेल बुझ्न सक्छ, न उसले खेलाडीको पिर मर्का नै बुझ्न् सक्छ ।
खेलाडीले पार्टीका कार्यकर्ता जस्तो चित्त बुझेन भने न आन्दोलन गर्न सक्छ, न वातावरण बिगारेर बाटोमा गाडीका टायर नै बाल्छ । उ चुपचाप लागेर बिदेशी भूमिमा मजदुरी गर्न वाध्य हुन्छ ।”

वर्तमान राजनीतिक अवस्था र खेल क्षेत्रप्रतिको उपेक्षा बिरुद्ध उनले तितो सत्य सामाजिक संजालमा पोखेको थियो । यो स्टाटसमा धेरै खेलप्रेमीहरुले कमेन्ट गरेका थिए । सबै राजनीतिक दल र नेताहरु खेलकुद मन्त्रालयको जिम्मेवारी लिन चासो नलिएको प्रति उनको दुःखेसो थियो । “खेलकुद मन्त्रालय हाँकेर खेलमार्फत नयाँ तरङ ल्याउने योजना, लक्ष्य बोकेर अगाडि सर्ने कोही देखिएको छैन । वास्तवमा यो दुर्भाग्य हो ।” उहाँको गुनासो थियो । रुपन्देहीमा कराँते खेलको प्रशिक्षण शुरु गरेर धेरै ठाउँमा पुगेका उनी सयौं खेलाडी उत्पादन गर्न सफल भएका थिए । “खेल र प्रशिक्षणले मात्र नपुग्ने रहेछ” उनले निराश भएर भने । क्षमतावान खेलाडीहरुले व्यवसायिक बन्ने अवसर नपाउँदा समग्र खेलक्षेत्र पछि परेको उनी बताउँछन् । ग्रास रुट लेभलमा प्रशिक्षण गरेर तयार भएका खेलाडीहरु थप सहयोग नपाउँदा समस्यामा परेको उनी बताउँछन् । “नयाँ जनप्रतिनिधि स्थानीय सरकारमा आए तर उनीहरुको प्राथमिकता खेलकुदमा परेन” उनले भने । स्थानीय सरकार बनेको एक वर्ष पुग्न लाग्दा समेत अधिकांशमा खेलकुद विकास समिति गठन गर्ने र खेलकुद गतिविधिमा जोड दिने काम भएको छैन । यसको प्रत्यक्ष असर खेल र खेलाडीलाई दीर्घकालमा पर्ने उनले दाबी गरे । राजनीतिक आधारमा मनोनित गरिने प्रवृत्ति रहेको नगर खेलकुद किचलोका कारण रोकिएको छ । कतिपय पालिकामा अघिल्लो कार्यकालमा मनोनितहरुको समयावधी नसकिएको अवस्था छ भने कतिपयमा मनोनितमा पार्टीकै विवाद कायम छ ।

फुटबलमा लामो समयदेखि लागेको तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपालीले सरकार परिवर्तन भएपनि खेल विकास र गतिविधि बढ्न नसकेको दुःखेसो गरे । खेलकुद क्षेत्रलाई बुझेको भन्दा पनि राजनीतिक पहँुचलाई आधार बनाउँदा खेल विकासमा बाधा भएको उनको दाबी छ ।

रुपन्देहीमा कुनै पनि पालिकामा खेलकुद विकास समिति गठन भएको छैन । खेलकुदको आधार खडा गर्ने तह नै नहँुदा खेलकुद पछि पर्दै गएको खेलप्रेमीहरुको दुःखेसो छ । स्थानीय सरकारको नेतृत्व आएको डेढ वर्ष ढिला गरी गठन भएको बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिबाट पालिकामा भएका खेल संरचना, खेलकुद संस्था र खेलाडीहरुको तथ्यांक निकाल्नुका साथै केही खेलमैदान निर्माण र मर्मत गरेको गरेको थियो । खेलप्रेमी नन्दु काउचाको अध्यक्षतामा गठन भएको समिति पालिकामा नयाँ जनप्रतिनिधि आएसंगै निष्क्रिय भएको छ । नयाँ जनप्रतिनिधिबाट नयाँ समिति गठन वा पुरानैलाई सक्रिय बनाउने बारे कुनै चासो दिएको छैन ।

पाँच वर्षे कार्यकालको लागि मनोनित भएको समिति मुद्दामा जाने हुन की भन्ने आशंकाकै कारण नयाँ समिति गठन हुन नसकेको हुनसक्ने धेरैको ठम्याई छ । नयाँ जनप्रतिनिधिका धेरै कार्यकर्ताहरु आकाक्षी देखिदा निर्णयमा ढिलाई भएको देखिन्छ । वर्षभरि धेरै खेल गतिविधि हुने तिलोत्तमा, सिद्धार्थनगर, सैनामैना नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि खेलकुद विकास समिति गठन भएको छैन । तिलोत्तमा नगरमा स्थानीय सरकारको पहिलो कार्यकालमा राजेन्द्र गुरुङको अध्यक्षतामा गठन भएको थियो ।

स्थानीय समिति नहुँदा खेल गतिविधिको वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिता हुन सकेको छैन । “राष्ट्रपति छनौट प्रतियोगिता विद्यालयस्तरमा माघसम्म सक्नुपर्ने भएपनि अधिकाश पालिकामा सुरसार नै छैन” रुपन्देही जिल्ला अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि) ले दुःखेसो गरे । स्थानीय पालिकाहरुलाई फागुन १५ गतेसम्म छनौट खेल सक्ने पत्राचार गरिएको उनले बताए । पालिकाहरुको आफनो अधिकार क्षेत्रमा रहेर खेलकुद गतिविधिमा छुट्टिएको बजेटमा कार्यक्रम नै नगरिनु दुर्भाग्य भएको उनी बताउँछन् । पालिकाहरुमा रहेको शिक्षा तथा स्वस्थ्य शाखाबाट आवश्यक पहल गरे आफुहरु छनौट खेलको लागि तयार रहेको उनले बताए ।

यता प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई प्रदेश छनौट खेल फागुनभित्र सक्नुपर्ने बताउँछन् । नगर छनौट सकेर जिल्ला छनौट हुनुपर्ने भएपनि अधिकाश पालिका गम्भीर नदेखिएको उनले दुःखेसो गरे । यसअघि लुम्बिनी च्याम्पियन भएकाले पनि राम्रो खेलाडी छनौट गर्ने अवसरका रुपमा रहेको छनौट खेलमा चासो दिनुपर्ने उनको सुझाव छ । प्रदेशभरि नै जिल्ला र नगरस्तरमा परिपत्र गरिएको उनले बताए । अघिल्लो वर्ष च्याम्पियन रहेको लुम्बिनी प्रदेशको साख जोगाउने चुनौती रहेको उनी बताउँछन् । खेलाडी छनौटको ग्रासरुट चरणमा नै लापरवाही हँुदा नतिजामा नकारात्मक असर पर्ने उनको दुःखेसो छ । राष्ट्रिय किर्तिमानीसहित अघिल्लोवर्ष लुम्बिनी च्याम्पियन बनेको थियो

(स्वस्तिक श्रेष्ठले तयार पारिएको रिपोर्टको आधारमा तयार पारिएको समचार)

भर्खरै

सम्बन्धित खबर

Language »