सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

निर्मला बलात्कार र हत्या प्रकरणको दुई वर्ष पूरा

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार २ वर्ष पूरा भएर तेस्रो वर्ष लाग्दै छ।

घटनाका दोषी पहिचान हुन सकेको छैन भने पीडितले न्याय पाउन सकेका छैनन्। नेपाल प्रहरीले अनुसन्धान जारी नै रहेको बताउन पनि छाडेको छैन।

तर यसबीचमा अपराध अनुसन्धानको जिम्मेवारी पाएको नेपाल प्रहरीमा दुई जना प्रमुख-आइजिपी फेरिइसकेका छन्।

२०७५ साल साउन १० गते साथीको घरबाट फर्कँदा बेपत्ता भएकी निर्मलाको शव भोलिपल्ट स्थानीय उखुबारीमा भेटिएको थियो, अर्धनग्न अवस्थामा। निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह विष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेपनि भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि उनी छुटेका थिए।

नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेप्यो।

निर्मलाको शव भेटिएकै स्थानमा बलात्कारपछि हत्या भएको हो वा अन्यत्रै बलात्कार र हत्या गरी त्यहाँ ल्याएर शव फालिएको हो भन्ने विषय अहिलेसम्म अन्यौल छ। यसबारे नेपाल प्रहरीले कुनै धारणा सार्वजनिक गरेको छैन।

स्रोतका अनुसार प्रदेश-७ प्रहरीले घटनाको अनुसन्धान गर्ने तयारी गरिरहेको छ। सीआईबीमा कार्यरत एक नायब उपरिक्षक-डीएसपीको प्रदेश-७ प्रहरीमा काज सरुवासमेत भइसकेको छ। डीएनए मिल्नैपर्छ भन्ने छैन। तर अन्य तथ्यले आरोपलाई स्थापित गर्नुपर्छ। अबको अनुसन्धान त्यसैमा केन्द्रीत हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »