सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुनः प्रधानमन्त्री बनेका ओलीले दुई बजे शपथ लिदै

काठमाडाैँ । विपक्षी कुनै दलले बहुमत जुटाउन नसकेपछि संसदमा सबैभन्दा ठूलो पार्टीको संसदीय दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पदको शपथ आज लिँदै छन्।

संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेकी हुन्।

उनको शपथ आज दिउँसो २ बजे गराउने तयारी शीतल निवासले गरेको छ।

गत सोमबार संसदमा विश्वासको मत माग्दा बहुमत प्राप्त हुन नसकेपछि ओली पदबाट हटेका थिए। त्यसपछि राष्ट्रपति संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई दलभन्दा बढी मिलेर बहुमतको सरकार बनाउन ३ दिन अर्थात् हिजो बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन्।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने प्रयास गरे पनि समयसीमाभित्र बहुमत जुटाउन सकेनन्। जसले गर्दा प्रधानमन्त्री चयनको प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो।

जसअनुसार राष्ट्रपतिले संविधनको धारा ७६ को उपधारा ३ अनुसार संसदमा सबैभन्दा धेरै सदस्य रहेको दल एमालेको संसदीय दलको नेता केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्ति दिएकी हुन्। अब उनले ३० दिनभित्र फेरि संसदमा विश्वासको मत लिनुपर्छ। त्यसबेला पनि बहुमत प्राप्त गर्न सकेनन् भने उनी पुनः पदबाट हट्नुपर्नेछ। त्यसपछि संसदमा बहुमत जुटाउन सक्ने कुनै सांसदलाई प्रधानमन्त्री बनाउने प्रक्रिया सुरु हुन्छ।

संघीय सरकारका सबै मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को उपधारा (३) अन्तर्गत प्रधानमन्त्री नियुक्त गरेसँगै काम चलाउ सरकारका सबै मन्त्री पदमुक्त भएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »