सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

युनेस्कोद्धारा नरैनापुरमा निःशुल्क आँखा शिविर सञ्चालन, ३४६ जनाको परीक्षण


नेपालगन्ज,बाँके युनेस्को क्लबले नरैनापुर गाउँपालिका २ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आइतवार आयोजना गरेको निःशुल्क आँखा शिविरमा ३४६ जनाले आँखाको परीक्षण गराउनुका साथै औषधी समेत पाएका छन् ।


कतार च्यारेटीको आर्थिक सहयोग र नरैनापुर गाउँपालिका तथा नेपाल नेत्र ज्योती संघ बाँके फत्तेबाल आँखा अस्पतालको सहकार्यमा क्लबद्धारा आयोजना गरिएको सो निःशुल्क आँखा शिविरमा सो क्षेत्रका ३४६ जना सर्वसाधारण आँखा परीक्षणका लागि आएका थिए ।


आँखा शिविरमा आएकाहरुको निःशुल्क आँखा परीक्षण गरिनुका साथै उनिहरुलाई औषधी र केहीलाई चश्मा समेत वितरण गरिएको र त्यहाँ आएका मोतियाविन्दु भएकाहरुको शल्यक्रिया समेत निःशुल्क गरिने क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।


उहाँले ८०जनाको शल्यक्रिया गर्नु पर्ने देखिएकोले उनिहरुको फत्तेबाल आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनिहरुलाई अस्पतालसम्म लैजाने र शल्यक्रियापछि घरसम्म पुर्याउने व्यवस्था क्लबले गर्ने बताउनुभयो ।


नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले निःशुल्क आँखा शिविरबाट यति धेरैजना स्थानीयले फाइदा पाएकोमा युनेस्को क्लब र कतार च्यारेटीप्रति आभार व्यक्त गर्नुभयो ।
उहाँले वडा नम्बर २ लाई लक्षित गरेर आँखा शिविरको आयोजना गरिएपनि अन्य वडाका पनि थुप्रै जनताले आएर परीक्षण गराएको बताउनुभयो ।


बाँकेमा पिछडिएको मानिने नरैनापुरमा यति धेरैजनाको आँखाको परीक्षण गरेर उपचार गराउन धेरै पाउँदा खुशी लागेको शिविरमा पुग्नु भएका कतार च्यारेटीका ईन्जिनियर आमिर फैसलले बताउनुभयो ।


गाउँघरमै आएर आँखा परीक्षणका साथै उपचार समेत गरिदिएकोमा स्थानीयले आयोजकलाई आभार प्रकट गरेका छन् । स्थानीय अकबाल अहमदले धेरैजनाको आँखाको समस्या रहेको ठाउँमा शिविर लगाएर धेरै राम्रो काम गरिएको बताउनुभयो ।


सो शिविरमा फत्तेबाल आँखा अस्पतालका कार्यक्रम अधिकृत उमेर अहमद सादिक, नेत्र वरिष्ठ सहायक एम राज बर्मा, नेत्र सहायकहरु शुषमा थारु र फलक सादिक तथा नेत्र सहायक परिक्षार्थिहरु नुर मोहम्मद, विमला कार्की, विनिता शाही र जोया शेषले सर्वसाधारणको आँखा परीक्षण गर्नुभएको थियो ।


सो अवसरमा क्लबका वरिष्ठ सल्लाहकार निरज गौतम, कार्यकारी निर्देशक रवि तुलाधर, सहायक निर्देशक साजिद अली सिद्दिकी, कार्यक्रम अधिकृतहरु गुलाम गौस, अनुप बर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।


सोही प्रकारको निःशुल्क आँखा शिविर नरैनापुर गाउँपालिका २ स्थित स्वास्थ्य चौकी सोमवार र नरैनापुर गापा ६ को गंगापुरस्थित स्वास्थ्य चौकीमा मंगलवार आयोजना गरिने बाँके युनेस्को क्लबले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »