सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राजापुर र बारबर्दियाका कोभिड प्रभावितलाई प्रिपेड कार्ड मार्फत सहयोग


नेपालगन्ज, कोभिड १९ महामारीले गर्दा बर्दिया जिल्लाको दुईवटा नगरपालिकाका अतिप्रभावित र अतिविपन्न घर परिवारलाई बाँके युनेस्को क्लबले प्रिपेड कार्ड मार्फत सहयोग प्रदान गरेको छ ।

बेलायत सरकार सहायता नियोग डीएफआइडीको आर्थिक सहयोग र मर्सि कोर तथा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकाकामा सञ्चालन गरिएको रिजिलियन्स प्लस कार्यक्रमको दोस्रो चरणको कार्यक्रम अन्तर्गत सोमवार सो सहयोग वितरण गरिएको हो ।

कोभिड १९ का कारण अत्याधिक प्रभावित भै समस्यामा परेका अतिविपन्न परिवारलाई आधारभूत खाद्य र अन्य आवश्यकताका लागि पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको सहयोग गरिएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो ।

दोस्रो किस्तामा पनि सोही बराबरको रकमको कार्ड वितरण गरिनेछ । उहाँले सो कार्यक्रमको दोस्रो चरणमा राजापुर नगरपालिकाको वडा नम्बर १ र २ तथा बारबर्दिया नगरपालिकाको वडा नम्बर ३ र ११ मा वडा कार्यालयहरुको समन्वयमा अतिप्रभावित तथा अतिविपन्नको छनोट गरि ८३३ घर परिवारलाई सहयोग वितरण गरिने जनाउँदै सोमवार राजापुर २ र बारबर्दिया ३ का २४१ परिवारलाई सो सहयोग प्रदान गरिएको बताउनुभयो ।

उक्त कार्यक्रमबाट सोमवार सहयोग पाउने प्रभावित तथा विपन्नहरुमा राजापुर २ का ७६ परिवार र बारबर्दिया ३ का १६५ घर परिवार रहेको बाँके युनेस्को क्लबले जनाएको छ । छनोटमा परेका परिवारलाई पहिलो किस्ता वापत प्रति परिवार १० हजार २५० रुपियाँ बराबरको प्रिपेड कार्ड वितरण गरिएको र सोही कार्ड देखाएर उनिहरुले उक्त बराबरको खाद्य लगायत अन्य सहयोग तोकिएको भेन्डरबाट प्राप्त गर्नेछन् ।

सो कार्यक्रम अन्तर्गत कोभिड १९ महामारी विरुद्ध दुबै नगरपालिकामा जनचेतना फैलाइने, चेतनामूलक जिंगलहरु स्थानीय रेडियोमार्फत बजाइने तथा पोषण स्वच्छता अभ्यासका बारेमा पनि जानकारी गराइने छ ।

राजापुर नगरपालिकामा नगरपालिकाका प्रमुख शिव प्रसाद थारु र वडा नम्बर २ का अध्यक्ष धरनीधर थारु, वडा सदस्यहरु लाल बहादुर थारु, हस्ती विक तथा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी, उपाध्यक्ष पन्चम गुरुंग, कार्यसमित सदस्य फिरदौस खान र बारबर्दिया नगरपालिकामा वडा नम्बर ३ का अध्यक्ष विजय कुमार चौधरी, वडा सदस्यहरु राम दुलारी थारु, देवीराम थारु र डिल्ली विक तथा बारबर्दियास्तरीय विपद व्यवस्थापन समितिका संयोजक टेक बहादुर विक लगायतले सो सहयोगको प्रिपेड कार्ड वितरण गर्नुभयो ।

कोभिड १९ को अति जोखिममा रहेका परिवारका लागि आधारभूत खाद्य, स्वास्थ्य र अन्य आवश्यकतामा सहयोग गर्न सो कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका मिल अफिसर हसरत अलीले बताउनुभयो ।

उहाँले सहयोगपाएपछि प्रभावित र विपन्नहरु निकै खुशी देखिएको पनि बताउनुभयो । कार्यक्रमको पहिलो चरणमा दुबै नगरपालिकाका चारवटा वडाका ८८९ घरपरिवारलाई सहयोग प्रदान गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »