काठमाडौँ। शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। डा. अधिकारीका अनुसार टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीय महिलामा, सर्लाही जिल्लाको गोडैता, कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुष र बारा करैयामाइ गाउँपालिकाकी ३७ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा कोरोना पुष्टि भएको छ। अधिकारीका अनुसार रुपन्देही जिल्लाको गैडहवा र रोहिणी गाउँपालिकाका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो।
यसैगरी भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशाला, भरतपुरमा गरिएको परीक्षणमा ५२ वर्षीय एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
हालसम्म कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ। ७० जना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ जनाको मृत्यु भएको छ।