सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विराटनगरको कोरोना कथा: कोरोना संक्रमण नभएकी वृद्वको लाश उठाउन कोही पनि आएन

विराटनगर। विराटनगर महानगरपालिका-३ मा शनिबार राती ९ बजे मृत्यु भएकी वृद्धाको घरमा छरछिमेकी पस्न नमान्दा शवको दाहसंस्कार हुन सकेको छैन । कोरोना संक्रमण पुष्टि भएपछि ८७ वर्षीया वृद्धाका ५६ वर्षीय छोरा गत मंगलबारबाट आइसोलेसनमा छन् । ५० वर्षीय बुहारी र २८ वर्षीय नातिको रिपोर्ट पनि पोजिटिभ आएको छ ।

वृद्धाको भने रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भएर छोरा आइसोलेसन र घरमा भएका बुहारी तथा नाति पनि संक्रमित भएसँगै छिमेकी घरमा पस्न नमान्दा वृद्धाको शव उठेको छैन ।

स्याहारसुसार गर्ने बुहारी र त्यही घरमा बस्ने नातिको रिपोर्ट पोजिटिभ आएको छ। वृद्धाको रिपोर्ट भने नेगेटिभ आएपनि छरछिमेकी घरमा पसेर अन्त्येष्टि गर्न लैजान शव उठाउनलाई डराइरहेको स्थानीय कुमार धमलाले बताए ।

मृत्यु भएकी वृद्धामा पनि ज्वरो आउनेलगायत कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । छोरालाई कोरोना देखिएपछि उपचार गर्न आइसोलेसनमा लगेर पारिवारिक नाता सम्बन्धका सदस्यको परीक्षणका लागि बुधबार स्वाब संकलन गरिएको थियो ।

तर. शनिबार राती वृद्धाको मृत्यु हुँदासम्म रिपोर्ट आइसकेको थिएन । प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट बुहारी र नातिमा आइतबार बिहान संक्रमण पुष्टि भएको हो । वृद्धाको भने दुई पटकसम्म परीक्षण गराउँदा पनि रिपोर्ट नेगेटिभ आएको महानगरले जनाएको छ ।

वृद्धाको नियमित स्याहारसुधार गर्नेसँगै मृत्यु भएपछि रातभर रुँघेर बुहारी र नाति बसेका थिए । वृद्धाको रिपोर्ट नेगेटिभ आएपछि विराटनगर महानगरपालिकाले शवको दाहसंस्कार गर्न परिवारलाई अनुमति दिएको छ ।

कोरोना संक्रमित भएर आइसोलेसनमा लगिएका पुरुष वृद्धाका कान्छा छोरा हुन् । कान्छालाई कोरोना देखिएपछि जेठा छोरा र उनका परिवारका सदस्य पीसीआर परीक्षणका लागि बुधबार विराटनगरमा स्वाब दिएर काठमाडौं गएको खुलेको छ ।

उनीहरुको रिपोर्टका बारेमा यकिन भएको छैन । तर आमाको मृत्यु भएकाले दाहसंस्कारका लागि आउन छिमेकीले आग्रह गरिरहे पनि जेठा छोरा काठमाडौंबाट आउन नमानिरहेको स्थानीयले बताए ।

विराटनगरको पुष्पलाल चौक घर भएका जेठा छोराका छोरी, ज्वाईको पनि पीसीआर परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्टका बारेमा केही खुलाइएको छैन । छोरा, बुहारी र नातिलाई नै संक्रमण देखिएका कारण संक्रमण सर्ने डर तथा त्रासका कारण घरमा छिमेकी र आफन्त प्रवेश नगरेको स्थानीय धमलाको भनाइ छ ।

उठाएर दाहसंस्कारका लागि लैजाने मान्छे नभएपछि वृद्धाको शव घरभित्रको पलङमै लडिरहेको छ ।’ गर्मीका कारण सडेर शव गन्हाउन सक्छ,’ धमलाले भने, ‘महानगरले शव घाटसम्म लगिदियो भने हामी अन्त्येष्टी गर्छौं भनेर बसिरहेका छौं ।’

घरभित्र नपसे पनि केही स्थानीय भने भेलाजम्मा भएर घर बाहिर बसेका छन् । बुहारी र नातिले शव रुँघेर बसेका छन् । वडा अध्यक्ष विनोद बस्नेतले परिवारका अन्य सदस्य संक्रमित भएका कारण छिमेकीहरु घरमा पसेर शव उठाउन डराएको बताए । ‘संक्रमण फैलने भन्दै छिमेकीहरु डराइरहेका छन्,’ उनले भने, ‘के गर्ने भनेर हामी सल्लाह गर्दैछौं ।’

कोरोना पोजिटिभ देखिएका मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको छ । नेगेटिभ देखिए शव आफन्तलाई जिम्मा लगाइँदै आएको छ । तर मृतकका छोरा, बुहारी र नातिको रिपोर्ट पोजेटिभ आएपछि शव व्यवस्थापनमा समस्या भइरहेको बस्नेतको भनाइ छ ।

वृद्धाका कान्छा छोरा प्रदेश १ को पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृत हुन् । ती अधिकृत चालक र कार्यालयका अरु दुई जना अधिकृतसहित गत साउन १८ गते कृषि र भेटेरिनरीको अनुगमन निरीक्षणका लागि पहाडि जिल्ला ओखलढुंगा र सोलुखुम्बु गएका थिए । कार्यालयको काम सकेर साउन २० गते विराटनगर फर्किएका चार जनामध्ये उनीसहित तीन जनालाई पहाडमै हुँदा ज्वरो आएको थियो ।

त्यसपछि कोरोनाको आशंकामा विराटनगर आएर ज्वरो आउनेहरुले गत सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । रिपोर्ट भोलिपल्ट मंगलबार पोजिटिभ आएपछि उपचारका लागि ती अधिृकतलाई भने आइसोलेनसमा भर्ना गरियो । उनीसँगै पहाडी जिल्लाको अनुगमनमा गएका चालकमा पनि कोरोना पुष्टि भइसकेको छ । परीक्षण गराएकामध्ये अर्का एक अधिकृतको रिपोर्ट भने नेगेटिभ आएको छ । एकजना अधिकृतले भने आफूलाई लक्षण नदेखिएको भन्दै पीसीआर परीक्षण नै नगराएको कार्यालयले जनाएको छ ।

यो समाचारलाई अन्नपुर्ण पत्रिकाले महत्वका साथ छापिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »