पत्रकार चन्द्रमणि भट्टराईकाे सहयाेगमा
काठमाडौं । चावहिल चोकमा पैदल यात्रुका लागि आकाशे पुल निर्माण कार्य शुरु भएको छ । आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पुल निर्माणको शिलान्यास गरेर निर्माण कार्यको शुभारम्भ गर्नुभएको हो ।
फलामबाट बन्ने यो पुल निर्माणको लागत अनुमान १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ थियो । बोलपत्र आव्हान हुँदा आएका प्रस्तावमध्ये कान्छामान निर्माण सेवाले ८२ लाख ६६ हजारमा निर्माण कार्यको कबोल गरेर काम जिम्मेवारी पाएको छ । निर्माण पक्षसँग गएको कार्तिक २७ गते नै सम्झौता भइसकेको छ । सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आकाशे पुलका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।
![](https://i0.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/84148878_505739690082388_3426816094646566912_n.jpg?fit=1024%2C683&ssl=1)
आकाशे पुल शिलान्यास अवसरमा बोल्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — पैदल यात्रुको सुरक्षा र सहरी सवारी आवागमनलाई सहज बनाउने महानगरले यात्रुको धेरै चाप हुने ठाउँहरुमा पैदल यात्रुका लागि क्रमशः आकाशे पुल निर्माण गर्दै जाने बताउनुभयो । यी पुलहरु आवश्यकताका आधारमा अर्को ठाउँमा पनि सार्न सक्ने खालका हुनेछन् । मेयर शाक्यले कामको परिणामका बारेमा कुरा गर्दै भन्नुभयो — ‘पूर्वाधार बनाउन शिलान्यास गर्ने तर काम नसकिएर उद्घाटन हुन नसक्ने समस्याबाट ग्रस्त बनेको बर्तमान सन्दर्भलाई समयमा नै पुल निर्माण सम्पन्न गरेर समयमा नै काम गर्न सकिन्छ भन्ने सन्देश दिन सक्नुपर्छ ।’
![](https://i2.wp.com/www.sarakhabar.com/wp-content/uploads/2020/01/83765331_615171965908170_3294760667931738112_n.jpg?fit=1024%2C683&ssl=1)
त्यस क्रममा बोल्दै वडाध्यक्ष शुद्धकुमार डंगोलले — पैदल यात्रुको अधिक चाप भएकाले चावहिल चोकमा आकाशे पुलका ठूलो खाँचो भएको बताउनुभयो । यस ठाउँमा निर्माण सम्पन्न भएपछि सडक र यात्रुको चाप हेरेर हामी अन्य ठाउँमा पनि पूर्वाधार बनाउँछौं । वडाध्यक्ष डंगोलले थप्दै भन्नुभयो — ‘आकाशे पुल बनेपछि पैदल यात्रुलाई मात्र होइन दिनरात सडकमा बसेर सवारी व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको काममा पनि धेरै खुकुलो हुनेछ ।’
उद्घाटनका अवसरमा उपस्थिति भएका स्थानीय तथा पैदल यात्रुले — पुल बन्नु आफ्नालागि सुखद् भएको प्रतिक्रिया दिनुभएको थियो ।