सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ईमेलबाटै परीक्षा लिने तयारीमा पूर्वाञ्चल विश्वविद्यालय

काठमाडौं। पूर्वाञ्चल विश्वविद्यालयले कोभिड महामारीको समयमा वैकल्पिक विधिमार्फत समेस्टर प्रणाली अन्तर्गत स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।

आइतबारको प्राज्ञिक परिषद्‌ र सोमबारको कार्यकारी परिषद्‌को निर्णय अनुसार विश्वविद्यालयले ‘टाइम बाउण्ड होम इक्जाम’ को रुपमा आगामी असोज पहिलो साताबाट परीक्षा लिने भएको हो ।

विश्वविद्यालयका अनुसार यो विधिमा प्रश्नपत्र ईमेलमार्फत उपलब्ध गराउने र निश्चित समयभित्र विद्यार्थीले ईमेलमार्फत नै उत्तर पुस्तिका बुझाउने गरी परीक्षा सञ्चालन हुनेछ।

परीक्षा व्यवस्थापन कार्यालयले उपलब्ध गराएको विद्यार्थीको रजिष्ट्रेसन नम्बर, रोल नम्बर र आवश्यक निर्देशनहरु केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा पाँच दिन अगावै सम्पूर्ण विद्यार्थीलाई जानकारी गराउनेछन् ।

यसैगरी परीक्षा तालिका अनुसारको प्रश्नपत्र परीक्षा सञ्चालन हुने समयभन्दा कम्तीमा ३० मिनेट पहिले परीक्षा व्यवस्थापन कार्यालयले सम्बन्धित क्याम्पस(केन्द्राध्यक्ष)को आधिकारिक ईमेल आईडीमा प्रश्नपत्र पठाइनेछ । उक्त प्रश्नपत्र केन्द्राध्यक्षले परीक्षार्थीको ईमेलमा १५ मिनेट अगाडि पठाउनेछन् ।

परीक्षा फाराम नभरेका परीक्षार्थीहरुलाई परीक्षामा सहभागी नगराइने विश्वविद्यालयले जनाएको छ । प्रत्यक परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडि आफ्नो आधिकारिक ईमेल आईडी आफ्नो क्याम्पसलाई उपलब्ध गराउनुपर्नेछ । क्याम्पसले सोही ईमेल आईडीमा प्रश्नपत्र उपलब्ध गराउनेछ ।

परीक्षा सम्पन्न भइसकेपछि उत्तर पुस्तिकाकै आधारमा परीक्षार्थीको हाजिरी विवरण तयार पारिनेछ । परीक्षामा सहभागी हुनका लागि प्रत्येक परीक्षार्थीहरुले नियमानुसार परीक्षा फाराम भरी परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्यरुपमा रोल नम्बर प्राप्त गर्नुपर्नेछ ।

परीक्षार्थीले निर्धारित अवधिमा उत्तर पुस्तिकाको स्क्यान तथा फोटो आफ्नो क्याम्पस तथा कलेजको आधिकारिक ईमेलमा पठाउनुपर्नेछ । यस किसिमको परीक्षामा सहभागी हुन परीक्षार्थी स्वयम्‌ले आफूलाई आवश्यक पर्ने फुलस्केल पेपर, एफोर साइज फोटोकपी पेपर, कालो कलम, इन्टरनेट र विद्युत जस्ता आवश्यक सामग्रीको व्यवस्था गर्नुपर्नेछ ।

यसरी परीक्षार्थीहरुले आफू बसोबास गरेको स्थानबाटै परीक्षामा सहभागी हुन सक्ने विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयबाट जारी सूचनामा उल्लेख छ । यो विधिअन्तर्गत सञ्चालित परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीहरुले अर्को परीक्षामा नियमित परीक्षार्थीकै रुपमा सहभागी हुन पाउनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »