सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

लेनदेनकाे कारणले साथीकाे नै हत्या

काठमाडाैँ। झापाको शिवसताक्षी नगरपालिकाकामा आर्थिक लेनदेनकाे कारणले साथीकाे नै हत्या गरेकाे खुलासा भएकाे छ ।

शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमनसिंह मगरलाई उनका साथी बच्चैदेखि सँगै खेल्दै हुर्केका मनकुमार लिम्बूले हत्या गरेकाे खुलेको हाे।

हत्या गरेकै दिन १६ गते साँझ पनि उनीहरु दुवै जना प्रदेश ०१–०१–०१२ प ५२२५ नम्बरको पल्सर मोटरसाइकलमा बेलुकाको हावा खान निस्केका थिए।

मृतक गोमन सिंह मगरले चलाएको मोटरसाइकलमा एक किलोमिटर उत्तरमा रहेको रतुवामाईतिर पछाडि बसेर गएका उनकै साथी लिम्बूले शिवसताक्षी मन्दीरतिर मोडिने ठाउँमा पुगेपछि पछाडिबाट कर्द प्रयोग गरी हत्या गरेका थिए।

मोटरसाइल रोकेर मृतक मगरले प्रतिकार गर्न खोज्दा मनकुमारले मगरलाई जंगलमा लगेर घाँटीमा प्रहार गरेका प्रहरीले बताएको छ। मरेको भन्ने पक्का भएपछि शव नालीमा फालेर घर गइ मादक पदार्थ सेवन गरी सुतेको प्रहरी समक्ष लिम्बूले बताएका छन्।

आरोपित लिम्बूले हत्यापश्चात् उनको साथमा बोकेको आइफोन मोबाईल, धारिलो हतियार कर्द र आफ्नो मोबाइल झिलझिलेको खोलामा फालेका थिए। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भने, ‘हत्यारा घटना भएकै भोलिपल्ट पक्रेका थियौँ। हत्याराले प्रयोग गरेका सबुद र प्रमाण खोजी गर्दा ३ दिन समय लागेको हो। ’

कोइरालका अनुसार प्रमाण जुटाउन प्रहरी, स्थानीय जन प्रतिनिधि र स्थानीय मानिसको सहयोगमा स्काभेटर प्रयोग गरी बाँध बनाइ पानी सुकाएर खोजी गरिएको थियो। खोलाको बगरमा मृतकले चलाउने गरेको आइफोन मोबाइल, हत्या गर्न प्रयोग भएको धारिलो हतियार कर्द र अभियुक्त मनकुमार लिम्बुले चलाउने गरेको मोबाइल टुटे फुटेको अवस्थामा प्रहरीले फेला पारेको थियो।

कोइरालाका अनुसार अनुसन्धान जारी नै रहे पनि प्रारम्भिक अनुसन्धानको आधारमा हत्या गर्नुको कारण आर्थिक लेनदेन र लेनदेनकै क्रममा असमझदारी भइ बढ्दै गएको मनमुटाव हो। हालसम्म लिम्बूले भने आफू एक्लैले हत्या गरेको बताउँदै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। थापाका अनुसार २ दिनदेखि लिम्बूलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर अनुसन्धान गरिएको थियो।

प्रहरीको अनुसन्धानबाट खुले अनुसार मगर गत माघ महिनामा बहराइनबाट नेपाल आएका थिए। अभियुक्त लिम्बू पनि बहराइनबाट फर्किएका हुन्। दुवैको पारिवारिक रुपमा समेत राम्रो चिनचान रहेको छ। अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय झापाको टोली, धरानबाट डग शाखाको केनाइन टोली समेत घटनास्थलमा झिकाइ खोजतलास गरिएको थियो।

अभियुक्त मन कुमार लिम्बुलाई आइतबार झापा जिल्ला अदालतबाट म्याद थप अनुमती लिइने छ। निजले गरेको कसुर मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिमको कसुर रहेकोले यस्तो कसुर गर्नेलाई सोही ऐनको सोही दफा बमोजिम जन्म कैदसम्मको सजाय हुने सक्ने कानुनी व्यवस्था रहेको छ।

याे समाचार अन्नपुर्ण पाेष्टबाट साभार गरेकाे हाे ।

भर्खरै

सम्बन्धित खबर

Language »