सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चाडपर्व लक्षित सुपथ पसल बिहीबारदेखि संचालनमा

काठमाडौं। सरकारले बिहीबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । दसैं, तिहार तथा छठजस्ता चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै बाहिरी जिल्लामा सरकारले सुपथ मूल्यका पसल सञ्चालन गर्न लागेको हो ।

सरकारले बर्सेनि यस्ता पसल सञ्चालन गर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पाेरेसनले आफ्ना बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउन लागेका छन् ।

चाडपर्वमा बजारमा खाद्यान्नको खपत धेरै हुँदा व्यवसायीले मनपरी मूल्य लिइ उपभोक्ता ठग्नसक्ने भन्दै बजार मूल्य हस्तक्षेप गर्न सुपथ पसल सञ्चालन गर्ने गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले आगामी १५ गतेदेखि मंसिर ६ गतेसम्म सुपथ पसल सञ्चालन निर्णय भएको जानकारी दिइन् । उनका अनुसार चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकासँगै उपत्यकाबाहिर सुपथ पसल सञ्चालन गरिने छ । सुपथ पसलमा चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, चामलमा प्रतिकेजी पाँच रुपैयाँ र नुनमा प्रतिकेजीमा दुई रुपैयाँ छुट दिन लागिएको छ ।

कम्पनीले सुपथ पसलमा चिनी, चामल, दाल, गेडागुडी, पिठो, नुन, घिउलगायतका चामलमा प्रतिकेजी पाँच रुपैयाँ, गेडागुडीमा प्रतिकेजी १० रुपैयाँ र खसीबोका प्रतिकेजीमा १० रुपैयाँ छुट दिने जानकारी दिएको छ । कम्पनीले थापाथली, रामशाहपथ, जाउलाखेल, नख्खु र सुर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान विक्रि गर्ने छ । कम्पनीले उपत्यकाबाहिर पनि २३ वटा बिक्री कक्षबाट सुपथ मूल्यमा सामान वितरण गर्ने छ ।

कम्पनीले अनलाइनमार्फत होमडेलिभरी समेत गर्ने जनाएको छ । लकडाउनदेखि कम्पनीले अनलाइनमार्फत होमडेलिभरी सेवा सञ्चालन गर्दै आएको छ । स्थानीय प्रशासनको मागपछि अन्य ठाउँमा पनि सुपथ पसल सञ्चालन गरिने कम्पनीले जानकारी दिएको छ। य

स्तै साल्ट ट्रेडिङ कर्पाेरेसनले पनि आफना उपत्यकामा रहेका आफना बिक्री कक्षबाट खाद्यान्न वितरण गर्ने जानकारी दिएको छ । कर्पाेरेसनले खाद्यान्नमा कति छुट दिने भनेर कार्ययोजना मन्त्रालयमा पेश गर्ने तयारी गरेको छ । कर्पाेरेसनले चिनी, पिठो, नुन, दाल गेडागुडी, चिउरा आटा सुपथ मूल्यमा बिक्री गर्ने छ ।

यस्तै, उपत्यकाबाहिर विभिन्न जिल्लामा रहेका बिक्री कक्षबाट खाद्यान्न वितरण गरिने कर्पाेरेसनले जानकारी दिएको छ । दुग्ध विकास संस्थानले उपत्यकामा रहेका तीनवटा बिक्री कक्षबाट दुग्धजन्य वस्तु बिक्री गर्ने छ । लैनचौर, न्युरोड र खुमलटारबाट दुग्धजन्य पदार्थ बिक्री गर्ने योजना छ । कम्पनी र कर्पाेरेसनले आफ्ना सामान साटेर बिक्री गर्नेछन् ।

चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »