सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सकेसम्म काठमाडाैँ नआउनुस्ः सरकारकाे अनुराेध

काठमाडौं । उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं नआउन अपिल गरेको छ।

‘काठमाडौं उपत्यकामा अहिले संक्रमणको दर बढिरहेको छ’, मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘सकभर काठमाडौं नआउनुहुन र आउनै पर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्रै आउन अनुरोध गर्दछौं।’

प्रवक्ता डा. गौतमका अनुसार मुलुकभर शनिबार २ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका मात्रै झन्डै आधा अर्थात् १ हजार १ जना छन्। यस्तै, उपत्यकाकै ललितपुरमा १ सय ९ र भक्तपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ।

मुलुकभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ छ। कुल संक्रमितको सख्ंया भने ८४ हजार ५ सय ७० पुगेको छ। यीमध्ये ६२ हजार ७ सय ४० जना निको भएका छन्। शनिबार २ हजार ४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। संक्रमणमुक्त हुने दर ७४.१ प्रतिशत छ।

हाल सघन उपचार कक्ष (आईसीयू)मा २ सय १७ जना उपचाररत छन्। भेन्टिलेटरमा राखेर ३१ जनाको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। असोजमा कोरोना संक्रमणबाट हुने मृत्युदर दैनिक औसत ८ जना छ। कोरोनाबाट शनिबार ८ जनाको ज्यान गएको छ। मृतकको संख्या ५ सय २८ पुगेको छ।

पछिल्लो पटक १२ हजार ९ सय ७८ पीसीआर परीक्षण गरिएको थियो। यससँगै हालसम्म १० लाख ६१ हजार ६ सय ६४ पीसीआर परीक्षण गरिएको छ। काठमाडौं उपत्यकासहित मोरङ, सिरहा, चितवन, रूपन्देही, सुर्खेत, कैलालीलगायत जिल्लामा सक्रिय संक्रमित बढी छन्।

प्रवक्ता डा. गौतमले कोरोना संक्रमण रोक्न सामुदायिक स्वास्थ्य अभियान सञ्चालन गर्न सकिने उल्लेख गरे। मुलुकभर ६० हजार महिला स्वास्थ्य स्वयंसेविकामार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि अभियान सञ्चालन गर्न स्थानीय तहले विशेष कार्ययोजना बनाउनुपर्ने उनको भनाइ थियो। महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरी प्रत्येक वडाका टोलटोलमा कोरोना रोकथाम अभियानमा सहजीकरण गर्न मन्त्रालयले आग्रह गरेको छ। स्थानीय तहमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्सलगायतको पनि महत्वपूर्ण भूमिका हुने उनको भनाइ थियो।

भर्खरै

सम्बन्धित खबर

Language »