सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बेनी अस्पतालको ५० शैय्या क्षमताको भवन अलपत्र

बेनी । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह सञ्चालक रहेको निर्माण कम्पनीले ठेक्का लिएको बेनी अस्पतालको ५० शैय्या क्षमताको भवन अलपत्र परेको छ।

सिंह सञ्चालक रहेको महादेव खिम्तीले गल्वा–रफिनासँग साझेदारी गरेर ठेक्का लिएको एक वर्षअघि नै बनिसक्नुपर्ने भवनको आधा मात्रै प्रगति भएको छ। २४ करोड ४ लाख २९ हजार ८ सय ६९ लागत अनुमान गरिएको भवन १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का लिएका थिए।

२०७६ मंसिर २० गते भवन निर्माण सक्ने लक्ष्य थियो। ४ हजार ९ सय ६३ वर्गमिटर क्षेत्रफलमा चारतले तीनवटा भवन बनाउन लागिएको हो। हालसम्म दुईवटा ब्लक भवनको मात्र तेस्रो तला ढलान भएको छ। एउटाको तेस्रो तला ढलानका लागि सेट्रिङ गरेर छोडिएको छ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको बताए। ‘लकडाउन भएदेखि घर गएका ठेकेदार र मजदुर फर्किएका छैनन्,’ उनले भने ‘करोडौंको योजनामा दिनमा चार÷पाँच जना मजदुरले झारा टार्ने शैलीमा काम गरेका छन्।’

पटकपटक ताकेता र समन्वय गर्दा समेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन अलपत्र परेको अध्यक्ष कटुवालले बताए। भवन निर्माणमा भएको ढिलाइले सेवा प्रवाहमा असर परेको छ। ५० शैय्या क्षमता भए पनि १५ शैय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको अध्यक्ष कटुवालले बताए।

पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ। नयाँ भवन बनाउन पुरानो भवन भत्काइएको थियो। बहिरंग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ। आकस्मिक र अन्तरंग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ। सघन उपचार कक्ष (आईसीयू) र डाइलाइसिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ।

१५ शैय्या क्षमताको अस्पताल २०७२ मा पचास शैय्यामा स्तरोन्नति भएको थियो। तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मंसिर २१ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो।

पछिल्ला दुई वर्ष सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीलाई हस्तान्तरण गरिएको यो आयोजना चालू आवमा बागलुङकै कार्यालयमा फिर्ता ल्याइएको छ। भूकम्प प्रतिरोधी क्षमताको भवन अपांगमैत्री समेत हुनेछ। भुइँतलामा लोन्ड्री, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरंग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका प्रमुख विदुर खड्काले पोखराको कार्यालयबाट हस्तान्तरण भएको फाइल अध्ययनसँगै ठेकेदारलाई काममा फर्किन ताकेता गरिएको बताए। महादेव खिम्तीका सञ्चालक सिंहले यो भवन बनाउने जिम्मा लिएका रविन जोशीलाई छिटो काम गर्न निर्देशन दिएको प्रतिक्रिया दिए।

जोशीले पुरानो भवन भत्काउन, रूख कटान र ढुवानीका लागि सडक बनाउन समयमै अनुमति पाउन भएको ढिलाइले सम्झौता गरेको एक वर्षपछि मात्र काम सुरु गर्न पाएको बताए। भुक्तानी समयमै नपाएको गुनासो गरेका जोशीले मजदुर र निर्माण सामग्री थपेर भवन निर्माणलाई गति दिने प्रतिबद्धता जनाए।

अन्नपुर्ण अनलाइनबाट जनदबाबका लागि साभार

भर्खरै

सम्बन्धित खबर

Language »