सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एमालेमा झलनाथ खनाल–माधव नेपाल समुहको निर्णायक आन्दोलन कता ?

काठमाडौँ । सत्तारूढ एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका पदाधिकारी र स्थायी कमिटी सदस्य गरी ११ जनाले अध्यक्ष केपी ओलीले कम्युनिस्ट आन्दोलनलाई नै विघटन र विसर्जनको बाटोमा लगेकाले अब पार्टीलाई ‘क्रान्तिकारी पुनर्गठन’ गर्नुपर्ने अभिभारा आइपरेको घोषणा गरेका छन् ।

वरिष्ठ नेताहरू खनाल–नेपालसहितका ११ नेताले आइतबार संयुक्त वक्तव्य दिँदै पार्टी पुनर्गठनको आवश्यकता औंल्याउनुले एमाले विवादमा थप खाडल परेको छ । अब एमाले सग्लो रहने सम्भावना झिनो बनेको छ । उनीहरूले ओलीविरुद्धको संघर्षमा जुट्दै पार्टीलाई अघि बढाउने दिशामा गोलबद्ध हुन सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरेका छन् । ओलीविरुद्ध देशव्यापी रूपमा उभिने रणनीति तय गर्न आउँदो ४ र ५ गते यो समूहले राजधानीमा राष्ट्रिय भेला बोलाइसकेको छ । राष्ट्रिय भेलामार्फत तय गरिने आफ्नो अबको बाटो के हो भन्ने मुख्य नेताहरूले आइतबारै वक्तव्यमार्फत इंगित गरेका हुन् ।

केपी ओलीका पार्टी विधानविपरीतका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिस्ट आन्दोलनका सामु समस्याका रूपमा उपस्थित भएका छन्,’ उनीहरूको वक्तव्यमा छ, ‘हामी त्यस्ता समस्याको निराकरण गर्दै पार्टीलाई विसर्जन र विघटनबाट बचाउन चाहन्छौं । ओलीको राज्यसत्ता संरक्षित दक्षिणपन्थ र विसर्जनवादविरुद्ध दृढतासाथ संघर्ष गर्दै अघि बढ्नु अपरिहार्य भएको छ ।’

निर्वाचनको मोर्चाबाट समेत कम्युनिस्ट पार्टीलाई विजयी बनाई राष्ट्रिय हित, स्वाधीनता र अखण्डता तथा स्वाभिमानलाई सुदृढ तुल्याउँदै जनताको समृद्धि हासिल गर्ने आफूहरूको लक्ष्य रहेकाले त्यसका लागि अब पार्टी पुनर्गठनको आवश्यकता परेको उनीहरूको निष्कर्ष छ । ‘पुनर्जीवित पार्टीलाई क्रान्तिकारी रूपमा पुनर्गठन गर्ने अभिभारा हाम्रो काँधमा आएको छ, नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत मार्क्सवादी–लेनिनवादी० को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरूलाई पराजित गरी छाड्नेछौं,’ वक्तव्यमा छ ।

ओलीबाट जनादेशअनुरूप पाँच वर्ष वामपन्थी सरकार चलाउने र पार्टीलाई एकताबद्ध गर्दै राष्ट्रिय एकता कायम गर्ने भूमिका निर्वाह गर्नुको सट्टा सरकारलाई विघटनतर्फ लैजाने, प्रतिनिधिसभालाई असंवैधानिक रूपमा विघटन गर्ने, वामपन्थी एकता र कम्युनिस्ट पार्टीको एकीकरणलाई समाप्त पार्ने र आफ्नै पार्टी एमालेलाई समेत विभाजन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई नै विसर्जन गर्ने कुकर्मतर्फ काम–कुरा भएको देखिएको उनीहरूको भनाइ छ । ‘यस्तो गैरजिम्मेवार, विध्वंसकारी, अराजक र निरंकुश प्रवृत्तिविरुद्ध दृढताका साथ संघर्ष गर्दै पार्टीलाई व्यवस्थित, लोकतान्त्रिक र क्रान्तिकारी तरिकाले अगाडि बढाउनुबाहेक हाम्रासामु अन्य विकल्प देखिन्न,’ उनीहरूले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता, अखण्डता, स्वाभिमान, लोकतन्त्र र जनताको समृद्धिका लागि हामीले पुनः संकल्पका साथ अगाडि बढ्नुपर्ने भएको छ ।’

ओलीलाई सच्याउने सबै प्रकारका प्रयास असफल भएकाले अब क्रान्तिकारी पुनर्गठनको दिशामा अघि बढ्नुपर्ने उनीहरूको निष्कर्ष छ । ‘घटनाक्रमहरू तथा व्यवहारले केपी शर्मा ओलीमा कम्युनिस्ट पार्टीको सदस्यका रूपमा हुनुपर्ने सामान्य राजनीतिक चरित्र, आचरण र नैतिकता बाँकी नरहेको देखाइरहेका छन्,’ उनीहरूले भनेका छन्, ‘चरम व्यक्तिवाद, गुटबन्दी, अहंकार, आत्मप्रशंसा र संकीर्ण स्वार्थमा रमाउने प्रवृत्तिले पार्टी र आन्दोलनलाई निरन्तर अप्ठ्यारोमा पार्दै आएको थियो । त्यस्ता गलत प्रवृत्ति र व्यवहारलाई सच्याउने हाम्रा सबै प्रयत्नहरू विफल भएका छन् ।’

ओलीले गत शुक्रबार आफ्नो गुट भेलाबाट केन्द्रीय कमिटीमा मनोनयन र नेताहरूको जिम्मेवारी खोस्ने काम गरेका थिए । केन्द्रीय कमिटीको नाममा ओलीले गरेका ती गतिविधिको खनाल–नेपाल समूहले भर्त्सना गरेको छ । यो कदम पार्टीलाई विभाजन गर्नेतर्फको भएको यस समूहले उल्लेख गरेको छ । चार पृष्ठ लामो वक्तव्यमा एमाले र माओवादी केन्द्रको एकीकरणपछि ओलीले गरेको स्वेच्छाचारी क्रियाकलापहरूको पनि स्मरण गरिएको छ । संयुक्त वक्तव्य जारी गर्नेमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »