सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेश १ मा कोभिड अस्पतालका बेड भरिए

प्रदेश १ मा कोरोना उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिएका छन् । सरकार र निजी क्षेत्रले सञ्चालनमा ल्याएका कोभिड उपचार केन्द्रका बेड भरिँदा उपचारमा समस्या देखिन थालेको छ । विराट मेडिकल कलेज र नोवेल मेडिकल कलेजले सञ्चालनमा ल्याएका कोभिड बेड भरिएपछि दुवै अस्पतालले त्यससँग सम्बद्ध बिरामी भर्ना लिन छाडेका छन् । विराट मेडिकल कलेजले शुक्रबार साँझबाट र नोवेल मेडिकल कलेजले शनिबारबाट कोरोनाका नयाँ बिरामी भर्ना लिन छाडेका हुन् । नोवेलमा कोभिड उपचारका लागि १० वटा बेडको आइसियु सञ्चालनमा छन् । अरु सामान्य बेडको संख्या ६० छ । कलेजले ११० बडेको कोभिड अस्पताल बनाउने तयारी गरेको भए पनि अहिले ७० बेड मात्रै छन् । ३९ वटा आइसियु बेड बनाउने तयारी भइरहेको प्रशासन प्रमुख दिपेश राईले जानकारी दिए । राईले अहिले भएका बेड भरिएपछि नयाँ बिरामी लिन सक्ने अवस्थामा नरहेको बताए । उनले भने, ‘बाँकी बेड थप्दैछौँ, बेड थप भएपछि केही राहत हुन्छ ।’ विराट मेडिकल कलेजको अवस्था पनि उस्तै छ । कलेजका सञ्चालक ज्ञानेन्द्रमान सिंह कार्कीका अनुसार विराटमा शुक्रबारबाटै बेड भरिएका हुन् । विराटले सञ्चालन गरेको ‘कोभिड १९ उपचार केन्द्रमा १३५ बेड छन् । सरकारीमा राहत प्रदेश सरकारले विराटनगरमा सञ्चालन गरेको कोसी कोभिड अस्पताल र मेची प्रादेशिक अस्पताल र संघीय सरकार मातहतमा रहेको बिपी कोइराला कोभिड अस्पतालका बेडहरू पनि भरिने अवस्थामा पुगेका छन् । यही गतिमा संक्रमण बढे अस्पतालमा बेड पाउन मुस्किल हुने कोसी अञ्चल अस्पताल विराटनगरका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले बताए । प्रदेश सरकराले गरेको तयारीले मात्रै अहिलेको संक्रमण दर र संक्रमितको अवस्था हेरेर धान्न सक्ने अवस्था नरहेको दासले बताए । संक्रमणदर उच्च भएकाले अवस्था जटिल बनेको उनले बताए । प्रदेश सरकारले नेसनल ट्रेडिङको भवनमा ८० र गोदाममा ९६ बेडको कोरोना उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेको सय बेड पनि बिरामीले भरिएको अस्पतालले जनाएको छ । मेची प्रादेशिक अस्पतालका अक्सिजन प्वाइन्ट भएका २५ बेडमध्ये १५ वटा भरिएका छन् । १० बेड खाली छन् । मेची प्रादेशिक अस्पतालमा ७५ बेडको कोरोना उपचार केन्द्र बनाइएको छ । प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पीताम्बर ठाकुरले अस्पतालको क्षमता बढाउने काम भइरहेको जानकारी दिए । रेमडिसिभिर अभाव विराटनगरमा सञ्चालित विभिन्न कोभिड-१९ विशेष अस्पतालहरूमा उपचार गराइरहेका कोरोना संक्रमितले रेमडिसिभिर नामक औषधी पाउन छाडेका छन् । औषधी व्यवस्था विभागमार्फत् केही समय अघिसम्म कोरोना विशेष अस्पतालहरूलाई उपलब्ध हुँदै आएको औषधी रोकिएपछि बिरामीहरूले हैरानी व्यहोर्नु परेको छ । विराटनगरको नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सरकारले औषधी उपलब्ध नगराएपछि बिरामीका आफन्तले ब्ल्याकमा औषधी किन्नुपर्ने अवस्था छ । बिरामीले प्रतिभाइल २० हजार रुपैयाँसम्म तिर्नु परेको गुनासो गरेका छन् । विराटनगरको विराट अस्पतालमा सञ्चालित कोभिड उपचार केन्द्रमा करिब २५ जना बिरामीलाई नियमित रेमडिसिभिर चलाइएको छ । औषधी नपाउँदा समस्या भइरहेको सञ्चालक कार्कीले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »