सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तत्कालका लागि ओली – नेपाल विवाद मत्थर

काठमाडौं । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ ।

लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो ।

नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि भइरहेका प्रयास सकारात्मक रहेको ठहर गर्दै सम्मानजनक एकताका लागि थप प्रयास गर्ने निर्णय गरेको आजको नागरिक दैनिकमा प्रकाशित छ ।

बैठकमा नेताहरूले एकताका लागि भइरहेका विभिन्न प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह गरेका थिए । ‘बैठकमा यथाशक्य पार्टीको विवाद निरूपण गर्नेबारे सबैको एकमत छ । यसै साताभित्र यी विषय टुंगो लगाएर जानुपर्छ भन्ने हाम्रो धारणा रह्यो । मलाई लाग्छ, यसै साताभित्र पार्टीको विवाद निरूपण हुन्छ,’ पार्टीको सचिवसमेत रहेका भीम आचार्यले भने ।

उनका अनुसार दुवैतर्फबाट एकताविरोधी गतिविधि नगर्न आग्रह गरिएको छ । ओली पक्षबाट भ्रातृ संगठनका नाममा भइरहेका अराजक गतिविधि बन्द गराउन पनि बैठकले आग्रह गरेको छ । युथ फोर्स, पिपुल्स भोलेन्टियर्स, अखिल फोर्सजस्ता दस्ता बनाएर गरिने गालीगलौज बन्द गर्न बैठकले आग्रह गरेको हो ।

पार्टीभित्र देखिएका विवाद निरूपण गर्ने क्रममा बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयन गर्ने र पार्टी अध्यक्ष ओलीका तर्फबाट आएको प्रस्तावलाई विश्वासको वातावरणसहित अघि बढाउने निर्णय बैठकले गरेको छ ।

‘पार्टी एकताका लागि भएका प्रयास धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासलाई छिटो टुंगोमा पु¥याउन थप प्रयास थाल्ने कुरा भएका छन् । सबै साथीको जोड एकतामै छ । त्यसकारण दुवै नेतालाई एकता प्रयास बिथोलिने गरी अभिव्यक्ति नदिन आग्रह गरिएको छ,’ बैठकपछि नेता रघुजी पन्तले भने ।

‘पार्टी एकताको विकल्प छैन भन्ने हो भने दुवै नेताले अभिव्यक्तिमा लगाम लगाउनुपर्छ । कार्यकर्ता भड्काउने गरी अभिव्यक्ति दिनुहुँदैन,’ स्थायी कमिटी सदस्य आचार्यले भने ।

ओलीका तर्फबाट माधव नेपाललाई दोस्रो अध्यक्ष र बराबरी अधिकार दिनेगरी विवाद निरूपणको प्रस्ताव गरिएको छ । तर वरिष्ठ नेता नेपालले भने विधानमा दोस्रो अध्यक्षको व्यवस्था नभएकाले विधानबमोजिम नै विवाद निरूपण गर्ने र विधानमै उल्लेख गरेर दोस्रो अध्यक्षको अधिकारको विषयमा छलफल गर्ने बताएका छन् ।

‘अहिले नै दोस्रो अध्यक्षमा जाने कुरा छैन । विधानबमोजिमकै एकता हुनुपर्ने भन्नेमा नेता नेपालको जोड छ,’ उनीनिकट एक नेताले भने ।

सोमबारको बैठकमा नेता नेपालले सम्मानजनक विषय आए पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्ने बताएका थिए । एमालेको नवौं महाधिवेशनबाट पारित भएको विधानले दोस्रो अध्यक्षको परिकल्पना नगरेका कारण नेपाल विधान संशोधन नभई दोस्रो अध्यक्षमा जान नचाहेका हुन् ।

पन्तका अनुसार देशभरका कार्यकर्ताको चाहना पनि एकता नै रहेकाले तत्कालका लागि पार्टी एकतामै जोड दिइएको हो । ‘नेकपा एमालेका देशभरिका कार्यकर्ता, मतदाता र राष्ट्रियता एवं लोकतन्त्रलाई माया गर्ने जनता एमालेको एकता चाहन्छन् भन्ने आत्मबोध गरिएको छ, त्यसैले पार्टी एकतालाई गम्भीरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ,’ पन्तले भने । बैठकमा दुवै शीर्ष नेताबीच भेटघाट गरेर कुराकानी गर्नसमेत सुझाव दिइएको थियो ।

बैठकमा आचार्यलगायत नेताले पार्टी एकता प्रक्रिया चाँडै टुंग्याउनुपर्ने बताएका थिए । अनिर्णयको बन्दी बनिरहन नहुनेमा उनीहरूले जोड दिएका थिए ।

‘जनता र कार्यकर्तामा अन्योल छ । नेताहरूले यो विषयमा सोच्नुपर्छ,’ आचार्यले भनेका थिए, ‘एकताको ढोका पूर्ण रूपमा खोल्नुपर्छ, अलमल गर्नुहुँदैन, राष्ट्रिय कार्यकर्ता भेलाको निर्णय र कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन गर्नुपर्छ ।’

पार्टी अध्यक्ष ओली पक्ष मौन रहेका बेला नेपाल पक्ष भने एक साताभित्रै विवाद निरूपण गर्न लागिपरेको छ । त्यसका लागि बैठकले भीम रावललाई जिम्मा दिएको स्रोतले जनाएको छ ।

‘माधव नेपाल तत्काल ओलीसँग संवादका लागि तयार छैनन् । विश्वासिलो आधार तयार भएपछि मात्रै संवादमा बस्ने भएकाले रावललाई जिम्मा दिइएको हो, यसै साताभित्र विश्वासिलो आधार तयार गरेर दुवै नेतालाई संवादको वातावरण बनाउने काम हुन्छ,’ बैठक स्रोतले भन्यो ।

पार्टीभित्र विवाद मिलाउन जति ढिला ग¥यो त्यति नै बाहिरका शक्तिले खेल्न पाउने विश्लेषण बैठकमा भएको थियो । बैठकले माधव नेपाललाई सरकार पक्षको गठबन्धनमा नजानसमेत सुझाव दिइएको थियो ।

स्थायी कमिटीको बैठकले केन्द्रीय सदस्य र सांसदसँग पनि छलफल गर्ने निर्णय गरेको छ । एकदुई दिनभित्रै स्थायी कमिटीका सदस्यसहित नेपालले केन्द्रीय सदस्यसँग पनि सुझाव लिनेछन् ।

भर्खरै

सम्बन्धित खबर

Language »