सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुख्यमन्त्री पोखरेलको राजीनामा, कुलप्रसाद केसी “सोनाम” मुख्यमन्त्री हुने सम्भावना

काठमाडौँ । प्रदेशसभामा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि आज छलफल हुने कार्यक्रम तय भएकोमा त्यसअघि नै उनले राजीनामा दिएका हुन्।

”अहिले प्रदेश प्रमुखलाई मुख्यमन्त्री पोखरेलले राजीनामा बुझाउनुभएको छ। यसअघि आज बिहान यो मन्त्रिपरिषद्‌को अन्तिम बैठक बसेको थियो,” एमाले नेता वैजनाथ चौधरीले बताए।

विसं २०७४ फाल्गुन ३ गतेदेखि प्रदेश सरकारको नेतृत्व गरेका पोखरेल नेकपा माओवादी केन्द्र अलग भएपछि गत वैशाखदेखि दबावमा पर्दै आएका थिए।

उनीविरुद्ध विपक्षी मोर्चाले वैशाख ६ गते पहिलो पटक अविश्वासको प्रस्ताव ल्याएको थियो।

त्यो प्रस्तावमाथि १९ गते प्रदेशसभामा छलफल गर्ने कार्यक्रम राखिएकोमा सोही दिन बिहान राजीनामा दिएर बहुमत प्राप्त दलको नेताको रूपमा आफ्नो दल नेकपा एमालेको एकदलको सरकार बनाउने भन्दै तत्कालीन प्रदेश प्रमुख धर्मनाथ यादव समक्ष दाबी पेश गरेका थिए।

सो दाबीलाई विपक्षी दलहरूको विरोधका बीच प्रमुख यादवले स्वीकार गरेपछि सोही दिन पोखरेलले दोस्रो पटक मुख्यमन्त्रीको शपथ खाएका थिए ।

संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा दोस्रो पटक शपथ खाएका पोखरेलले सोही दिन जनता समाजवादी पार्टीका चारजना सांसदलाई मन्त्री बनाएपछि पोखरेलमाथि संविधानको मर्मविपरीत काम गरेको आरोप विपक्षीहरूले लगाएका थिए।

दोस्रो पटक वैशाख २६ गते विपक्षी दलहरूले पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेकोमा प्रदेश प्रमुखले सो प्रस्ताव प्रदेशसभामा ल्याउन अस्वीकार गरेका थिए ।

शुरूमा ८७ सदस्यीय रहेको प्रदेशसभा अहिले ८० जनामा खुम्चिएको छ।

माओवादी केन्द्रबाट निर्वाचित दुई सांसद एमालेमा गएपछि माओवादीले उनीहरूलाई कारबाही गरेको थियो भने नेकपा एमालेका दुई सांसदले मुख्यमन्त्री पोखरेलका कामकाजप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए।

नेकपाबाट निर्वाचित सांसद विमला वलीले माओवादी केन्द्र रोजेपछि पछिल्लो पटक पोखरेल थप दबावमा थिए।

यसैगरी उनलाई साथ दिएका जनता समाजवादी पार्टीका तीनजना सांसदलाई सो पार्टीले सांसद पदबाट निष्कासित गरेपछि उनी संसद्‌मा प्रस्ट रूपमा अल्पमतमा परेका थिए।

जसपाका सांसदहरूको रिट निवेदनमाथि भने अदालतले अन्तिम फैसला गरिसकेको छैन।

नयाँ मुख्यमन्त्री
शङ्कर पोखरेलको ठाउँमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी सोनाम नयाँ मुख्यमन्त्री हुँदैछन्।

तीन वर्षसम्म पोखरेलपछिको दोस्रो वरियतामा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय चलाएका केसी माओवादी केन्द्रका संसदीय दलका नेता पनि हुन्।

रोल्पाबाट निर्वाचित केसी शिक्षक हुँदै तत्कालीन माओवादी सेनाको कम्पनी कमिसार पनि भएका थिए।

माओवादीको फुटपछि मोहन वैधतिर लागेका केसी २०७३ सालमा रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्केका थिए।

केसीलाई आफ्नो दल माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र जनमोर्चाका गरी ४१ जना सांसदको समर्थन रहेको छ जुन बहुमतका लागि आवश्यक सङ्ख्या हो।

स्रोतः बिबिसि सेवा,

भर्खरै

सम्बन्धित खबर

Language »